मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ : नेता सिंह

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको बताए ।

‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उनले बताए । “मेरो उम्मेदवारी नै किन ? भन्ने प्रश्न उठिरहेका हुन्छन् । विश्वमै मतदाताले रुचाएसम्म उम्मेदवारले उम्मेदवारी दिने गरेका छन”, नेता सिंहले भने । उनले चुनिएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

“म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ । त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ”, उनले भने । चुनावमा सिङ्गो नेपाल होमिएको भए पनि सबैको ध्यान क्षेत्रमा भएको विकास, विद्युतीय मतदानलगायतले यही रहेको उनले बताए । “संविधान कांग्रेसकै नेतृत्वमा बन्यो । त्यसलाई संस्थागत पनि हामीले गर्‍यौँ। हामीले विकासका लागि तयार गरेको अवाधारणालाई अगाडि बढाउन कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गर्दछु”, उनले भने ।

नेता सिंहले मुलुकमा सङ्घीयता दिलाउने, प्रदेश र स्थानीय तहको सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने जानकारी दिएका छन् । “शिक्षालाई गुणस्तरीय बनाएर निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने, वडामै स्वास्थ्य परीक्षण गर्ने ल्याबको व्यवस्था गर्ने, रोजगारीको सिर्जना गर्नेलगायतका धेरै अठोट लिएर भोट माग्न आउँदै छु”, नेता सिंहले भने ।

उनले शिक्षामा सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने बताए । उनले भने, “शिक्षासँगै प्राविधिक शिक्षा दिएर रोजगारीको बाटो खोल्ने छौँ । यसले रोजगारी बढाउन मद्दत गर्ने विश्वास मैले लिएको छु ।”

पत्रकार सम्मेलनमा नेता सिंहसँगै प्रदेशसभातर्फका उम्मेदवार क्षेत्र नंं १ (क) का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, (ख) का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिकतर्फका उम्मेदवार लिलेन्द्रप्रसाद प्रधान, प्रबल थापा र शान्ता ढकाल उपस्थित थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *