निहारिका राजपुतकी छोराको डिएनए बलात्कार आरोपित शिवराज श्रेष्ठसँग मिल्यो

काठमाडौँ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपित शिवराज श्रेष्ठसँग मिलेको छ ।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिए ।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए । बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो । निहारिका आफ्नो छोरा र आरोपितको डीएनए जाँचको माग गर्दै पटकपटक आन्दोलन तथा अनसन बस्दै आएकी थिइन् ।

शिवराजलाई भने यसअघि जिल्ला अदालत धनुषाले सफाई दिएको थियो । तर अदालतले गम्भीर त्रुटी गरेको भन्दै निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *