स्वतन्त्र उम्मेदवारले दलका नेतालाई कतिको चुनौती देलान् त ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहिबारदेखि जिल्लामा चुनावी अभियान थाले । उनी अहिले डडेल्धुरामा चुनावी सभामा व्यस्त छन् । श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा विहिबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गरिरहेका छन् । भोट पकडको रुपमा रहेका क्षेत्रमा देउवाले घरदैलो गर्ने तयारी समेत गरेका छन् ।

देउवाले शुक्रबार बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गरे ।

अहिले डडेल्धुरा पुगेका देउवालाई उनकै प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल स्वागतका लागि लाइनमा उभिएको निकै चर्चित भयो । ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताएका थिए । उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताएका छन् । तर उनको आग्रहलाई देउवा सहभागी कार्यक्रमका आयोजकले नकारे ।

देउवालाई स्वागत गर्न उनी तीन घण्टा लाइनमा बसेर जनतन फुल दिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ । सामाजिक सञ्जालमा पनि ढकालको यो कदमको मिश्रित प्रतिक्रिया आएको छ । कसैले ढकालमा राजनीतिक परिपक्कता नभएको भन्दै यस कदमले उनलाई कमजोर रहेको सार्बजनिक रुपमा नै प्रमाणित भएको टिप्पणी गरेका छन् भने केहिले ढकालको कदम सहि भएको प्रतिक्रिया दिएका छन् ।

जे होस् देउवाको स्वागतमा डडेल्धुरामा देखिएको भिडले ढकालको चुनावी मैदान सजिलो नहुने संकेत भने गरेको छ । यति हुदा पनि चुनाव सम्पन्न भएर मतगणना सकिने बेलासम्म ढकालको चर्चा भने भइनै रहने छ ।

यस्तै विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन् । यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदीप पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने छिन् ।

यस्तै स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा चर्चित नाम हो हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् । कहिले एमसीसी त कहिले भ्रष्टाचारबिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन् । उनै हेमराज थापा काठमाडौं(५ बाट नै उम्मेदवारी दिएका छन् ।

त्यस्तै काठमाडौँ(५ बाट नै युवा श्री गुरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएर दलका उम्मेदवारलाई चुनौती दिएका छन् । उनले पर्यटनको विकासलाई प्रमुख एजेन्डा बनाएर आफ्नो प्रचार गरिरहेका छन् ।

यस्तै आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने नाम मध्येका अर्को नाम हो दिनेश कोइराला । काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका कोइरालाले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले गठबन्धनको उम्मेदवारको विरुद्धमा विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । आफ्नो उम्मेदवारीबाट तरंग सिर्जना भएको भन्दै उनले अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने दाबीसमेत गरेका छन् ।

सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई अघि सारेको बेला कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको समेत उम्मेदवारी परे पनि एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको थियो ।

त्यसति अधिवक्ता स्वागत नेपाल झापा(२ बाट स्वन्तन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेका देवराज घिमिरे र माओवादी केन्द्रका हरिकुमार राना मगरलाई चुनौती दिदै मैदानमा रहेका छन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई चुनौती दिदै चर्चित लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

समग्रमा हेर्दा देशभर स्वतन्त्र उम्मेदवार करिब ९ सयको हाराहारीमा छन् । तर स्थानीय चुनावमा बालेन र हर्क साम्पाङ, धनगढीका गोपाल हमालले जस्तो चर्चा भने अहिलेसम्म पाउन सकेका छैनन् । हुन त स्थानीय तहमा कार्यकारी भूमिका हुने हुनाले अहिले संसदीय निर्वाचनको पृष्ठभुमि नै फरक हुन्छ । कार्यकारी भूमिका नहुने र स्वतन्त्र व्यक्तिले जितेमा पनि नीति निर्माण ठुलो भूमिका खेल्न नसक्ने अवस्थामा संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा र हाइप देखिएको छैन । अझ हाम्रो जस्तो दलीय व्यवस्थामा एक जनाले जितेर संसदमा खेल्ने भूमिका खासै देखिदैन । त्यस्तै परेमा संसदमा बोल्ने अवसर समेत नपाउने अवस्था सिर्जना हुने हुनाले स्वतन्त्र उम्मेदवारको प्रभाव कम देखिएको हुनसक्ने विश्लेषण आम रुपमा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *