आचारसंहिता पालना कडाइबाट तडकभडक हटेको छ : नेताहरु

काठमाडौँ । मतदाताले यस पटक पनि सांसदका उम्मेदवारसँग कानुनभन्दा विकास निर्माणका विषयसँग सम्बन्धित भएर चासो र जिज्ञासा राखेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सिँचाइ, सञ्चार, विद्युतीकरण, कृषिमा आधुनिकीकरण गर्नेलगायत पूर्वाधार निर्माणका विषयमा प्राथमिकता दिन उनीहरूको माग छ ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा चिया उत्पादनमा अग्रणी रहेको इलामलाई चियाको राजधानी घोषणा गर्न तथा उपयुक्त हावापानी भएकाले जिल्लाका प्रत्येक वडालाई पर्यटकीय विकास गर्नका लागि ठोस कार्यक्रम ल्याउन मतदाताले आफूसँग आग्रह गरेको बताउनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार विगतभन्दा भिन्न महसुस भएको प्रतिक्रिया पनि उहाँले दिनुभयो । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तुल्याउन आचारसंहिता पालनामा कडा नीति लिएपछि खर्चिलो र भड्किलो प्रचारप्रसार, ठूला आमसभा, पदयात्रालगायत तडकभडकका कार्यक्रम न्यून भएको देखिएको उहाँको विचार छ । उहाँले भन्नुभयो, “आचारसंहितामा कडाइको नीति लिनासाथ खर्चमा न्यूनीकरण भएको छ, लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको निर्वाचन सम्पत्तिवालाले मात्रै लड्न सक्ने हुनहुन्न, निर्वाचन पद्धतिलाई नयाँ ढङ्गले परिष्कृत गर्नुपर्छ ।”

राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् । बिहीबार राति १२ बजेदेखि प्रचारप्रसारको काम पूरा भई ‘स्थिरावधि’ सुरु हुनेछ ।

आफ्नो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा ठूलो उत्साह र उमङ्ग रहेको जिकिर गर्दै पूर्वप्रधानमन्त्री खनालले आफूप्रति जनताको त्यत्तिकै गहिरो सहानुभूति रहेको पनि विश्वास व्यक्त गर्नुभयो । “देश र जनताको भलाइका लागि नेतृत्वले आमरूपमा सुस्थिर ढङ्गले काम गर्न नसक्दा विकासको ठूलो अवसरलाई प्रयोग गर्न नसकिएकोप्रति मतदाताले असन्तुष्टि व्यक्त गरेका छन्”, उहाँले राससलाई भन्नुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता रमेश लेखकले आयोगले आचारसंहिता कार्यान्वयनमा गरेको कडाइले निर्वाचनलाई शालीन र भद्र बनाउने वातावरण बनाएको भनी खुसी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता जुन ढङ्गले लागू गरियो, त्यो राम्रो भो भन्ने मेरो मान्यता छ । माइकिङ, ठूला आमसभालगायत तडकभडक नगरी मतदाताका घरदैलामा पुगेर रमाइलो वातावरणमा आनन्दसँग प्रसार गर्न पाइएको छ । मलाई यो त बडो रमाइलो लागेको छ ।”

चुनाव प्रसारप्रसार गर्दै मत माग्न जाँदा जनताले अहिले पनि बाटो, बाढी नियन्त्रण, मलखादजस्ता स्थानीय तहकै विकासका विषयलाई प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो, “चुनावी वातावरण राम्रो छ, शान्तमय छ, संविधानको रक्षा गर्दै सबैभन्दा पहिलो राजनीतिक स्थिरता र समृद्धिका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गरेको छु ।”

महाकाली बाढीबाट हरेक वर्ष क्षति बेहोर्दै आएका मतदाताले संविधान निर्माण कार्यले आफूहरूमा उत्साह नआएको बताएको पूर्वभौतिक योजना तथा यातायातमन्त्री लेखकले जानकारी दिनुभयो । उहाँले कञ्चनपुरलाई त्रिदेशीय नाका तथा व्यापारिक– औद्योगिक–धार्मिक केन्द्र बनाउनेलगायत स्थानीय समस्या र विकासलाई सम्बोधन गर्न प्रयत्न गर्ने वचन दिनुभएको छ ।

यसैगरी नेकपा (एमाले)का नेता छविलाल विश्वकर्माले संसद् र सांसदको मुख्य जिम्मेवारी र कार्यक्षेत्र भनेको संविधान र कानुन निर्माण हो भन्ने पाटाबाट आफूहरूले जनतालाई अझै बुझाउन नसकेका कारण चुनावमा विकास निर्माणकै विषयले प्राथमिकता पाउँदै आएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सांसदको काम भनेको कानुन बनाउने हो भनेर बुझाउन सकिएको छैन, त्यसरी बुझाउन नसक्नु दल र सरकारको कमजोरी हो ।”

विगतका तुलनामा यस पटकको निर्वाचन प्रसारप्रसार शैली परिष्कृत भए पनि अझै सुधारको खाँचो आँैल्याउँदै पूर्वकृषि तथा सहकारीमन्त्री विश्वकर्माले भन्नुभयो, “निर्वाचनलाई तामझामपूर्ण र भड्किलो बनाउन हुन्न, सजिलो र सहज बनाउनुपर्छ, नत्र यो सत्ता र शक्ति भएकाहरूमा मात्र सीमित हुन्छ ।”

आयोगले लोकतन्त्रलाई सुदृढ तुल्याउन गुण र दोषका आधारमा उम्मेदवारको चयन हुनुपर्छ भनी राजनीतिक दलसँगको छलफलका आधारमा निर्वाचन आचारसंहिता लागू गरेको हो । निर्वाचनका सन्दर्भमा उत्साहका साथ जनतासँग छलफल र भेटघाट भइरहेको बताउँदै उहाँले ‘राष्ट्रियता, विकास र समृद्धिका विषयका अतिरिक्त जिल्लाको विकासका लागि आफूले कोरेको जगमा उभिएर’ विजयी भएका खण्डमा त्यसलाई पूर्णता दिने अठोट व्यक्त गर्नुभयो । रुपन्देही क्षेत्र नं १ चुरे पहाडदेखि नेपाल–भारत सीमा दशजग्गासम्म फैलिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले निर्वाचनप्रति जनता ज्यादै सचेत रहेको आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा पुल, बाटो, नाला, स्कुल र मन्दिर निर्माण जस्ता विषयलाई नै जनताले प्राथमिकतामा राखेर उम्मेदवारसँग माग गरिरहेका छन्, जुन काम हाम्रो होइन ।” निर्वाचन प्रचारप्रसारमा आचारसंहिता पालनामा गरिएको कडाइको स्वागत गर्दै पूर्वमन्त्री कर्णले भन्नुभयो, “आचारसंहिता पालनाको अनुगमन गर्ने बलियो संयन्त्र हुनुपर्छ, त्यो छैन ।”

एमालेका धनकुटाका उम्मेदवार राजेन्द्र राई उत्सुकताका साथ मतदाताले मतदानको दिन पर्खेर बसिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सुशासन, भ्रष्टाचारको अन्त्य, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण, खानेपानी, बाँदर आतङ्कलगायत विषय सदनमा पुगेर प्रखररूपमा उठाउनेछु ।” यस पटकका निर्वाचनमा तडकभडक, तामझाम प्रचारप्रसादभन्दा जनताका घरदैलामा पुगेर अन्तरक्रिया गर्दै मत माग्ने कार्य ठीक र राम्रो लागेको उहाँले प्रतिक्रिया दिनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *