सत्ता गठबन्धन थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता


काठमाडौं ।आज बसेको सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो । ‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्टसन्देश दिएको छ। निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ । गठबन्धनप्रति आ मतदाताले दर्साएको विश्वास र मायाप्रति हामी आभारी छौं। आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं। निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं। निर्वाचनमा सहभागि सम्पूर्ण मतदातालाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागि राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, राष्ट्रिय र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षक लगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।साथै निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेपछि सत्ताको भागबण्डाबारे छलफल सुरु गरिने लोकतान्त्रिक(वाम गठबन्धनले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सत्ताको भागबण्डाबारे छलफल गर्ने निर्णय गरेको हो । अहिले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाइसकेको छैन । अहिले नै सत्ताको बागबण्डाबारे छलफल गर्नुको औचित्य छैन, माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘विगतमा निर्वाचन आयोगले ढिलो गरेर राष्ट्रपतिलाई बुझाएको नजिर छ । त्यसैले हामीले गठबन्धनमा सत्ता भागबण्डाबारे निर्वाचन आयोगलाई कुरिरहेका छौँ । यद्यपि अहिलेको गठबन्धनलाई आगामी सरकार गठन गर्दा पनि निरन्तरता दिने विषयमा भने आजको बैठकमा समझदारी भएको गुरुङको भनाइ छ । अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर आपसी समझदारीमा भागबन्डा गरिने गुरुङले बालुवाटार बैठकपछि जानकारी दिए । 
उनका अनुसार बैठकले चुनावको प्रारम्भिक समीक्षा गर्नुका साथै निर्वाचन आयोग र सरकारलाई निर्वाचन सफल बनाएकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, जनमोर्चाकी दुर्गा पौडललगायत सहभागी थिए। बैठकमा लोसपालाई भने बोलाइएको थिएन । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *