रास्वपा, राप्रपा र जसपा विभाजित हुने खतरा

काठमाडौं । विगतमा पनि सत्ता स्वार्थले राजनीतिक दल विभाजित हुँदै आएका छन् । यसपटक पनि को मन्त्री बन्ने या नबन्ने भन्ने सन्दर्भमा राजनीतिक दल विभाजित हुने खतरा देखिन्छ ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा बुझाएसँगै पुस २८ गते अर्थात ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन गरिसक्नु पर्ने समयसीमा तय भएको छ । सोही अनुरूप दलहरूले सरकार गठनको तयारी थालेका छन् ।

सरकार गठनको खेल सुरु भएसँगै साना दलमा विवादसमेत सुरु भएको छ । सरकारमा जाने र नजाने पक्षबीच विवाद बढ्दा दलहरू विभाजन नै हुनसक्ने खतरा बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)मा सरकारमा सहभागी हुने वा नहुने भन्ने दुई पक्षीय मत रहेको छ ।

रास्वपाले सरकारमा सहभागी हुने या नहुने भन्ने सन्दर्भमा आधिकारिक निर्णय त गरिसकेको छैन । तर, अध्यक्ष रवि लामिछानेले सहभागी हुने इच्छा जाहेर गरेका छन् । यसअघि नै आफ्नो पार्टी सरकारमा सहभागी हुनसक्ने बताएका थिए ।

अध्यक्ष लामिछानेसहित रास्वपाका केही सांसद वर्तमान सत्ता गठबन्धनको सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहँदै आएका छन् । नागरिकता समस्याले अप्ठ्यारोमा पर्ने बुझिसकेका अध्यक्ष लामिछाने सरकारमा सहभागी भएर सुरक्षित हुन खोजिरहेका छन् ।

अध्यक्ष सरकारमा सहभागी हुन खोजे पनि अन्य सांसद भने अहिलेको जनमत सरकारमा जाने नभएकाले सरकार बाहिरै बसेर जनताको काम गर्नुपर्ने पक्षमा छन् ।

नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयले राप्रपामा पनि दुई धार देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीले पाएको जनमत सरकारमा जाने मत नरहेको भन्दै आएका छन् तर अधिकांश सांसद भने सरकारमा जाने मन्त्री बन्ने पक्षमा रहेका छन् ।

निरन्तर सत्तामा रहँदै आएका दीपक बोहरा, लामो समयको प्रयासपछि संसद पुगेका विक्रम पाण्डे र ध्रुबबहादुर प्रधानहरू भने सरकारमा सहभागी भएर मन्त्री भैहाल्ने पक्षमा छन् ।

सरकारमा सहभागी हुने सन्दर्भमा जसपामा विवाद छैन । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने भन्ने सन्दर्भमा विवाद देखिएको छ ।
निर्वाचनमा एमालेले धोका दिएपछि अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुपमा एमालेसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए । तर, संघीय परिषद अध्यक्ष अशोक राईले भने अध्यक्षको धारणा पार्टीको धारणा नरहेको भन्दै खण्डन गरेका थिए ।

यादव र राईको धारणा जसपाभित्रको पछिल्लो लाइनको धारणा हो । यादव वर्तमान सत्ता गठबन्धनसँगै सहकार्य गर्न चाहन्छन् भने राई एमालेसँग नजिक हुँदै गएका छन् ।

सरकारमा सहभागी हुने सन्दर्भमा यादव समूह वर्तमान सत्ता गठबन्धनले बनाउने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छ भने राई समूह एमालेसँग मिल्नुपर्ने पक्षमा रहेको छ ।

विवादले विभाजन निम्त्याउने खतरा
सरकारमा सहभागी हुने या नहुने भन्ने विषयले साना राजनीतिक दल विभाजित हुने खतरा बढेको छ । कुनै पनि दलले यस विषयमा स्पष्ट धारणा बनाउन सकेका छैनन् ।

सबै साना दलमा सरकारमा सहभागी हुने र मन्त्री बन्ने चाहना राख्नेको संख्या धेरै छ । यस्तो अवस्थामा पार्टी सरकारमा सहभागी नहुने अवस्थामा आए विभाजन गरेरै भए पनि मन्त्री बन्न चाहनेहरु हाबी भएको खण्डमा दलहरु विभाजित हुने खतरा रहन्छ ।

विगतमा मधेसी दलहरु सरकारमा सहभागी हुनकै लागि विभाजित हुँदै आएका छन् । यसपटक यो समस्या अन्य दलमा समेत देखिनसक्ने विश्लेषण हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *