कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आज, देउवा समूहका लामा र बाँनिया भिड्दै

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि आज (बुधबार) निर्वाचन हुने भएको छ ।
संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि आज निर्वाचन हुने भएको हो । नेताका लागि नुवाकोट–२ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुरसिं लामा र मकवानपुर–२ को २ बाट निर्वाचित इन्द्रबहादुर बानियाँ चुनावी प्रतिस्पर्धामा छन् ।

लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने बानियाँ बागमती प्रदेश सभापति हुन् । लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । मंगलबार हेटौंडामा लामा र बाँनिया दुबैले छुट्टाछुट्टै भेला गरेका थिए । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकसहित गरेर ३७ सिट प्राप्त गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समिति अनुसार उम्मेदवारको लागि दरखास्त आज बिहान ८ बजेदेखि १० बजेसम्मका लागि समय रहेको छ भने उम्मेदवारको दरखास्त उपर दाबी विरोध बिहान ११ बजेदेखि ११ः३० बजेसम्म रहेको छ ।

यसैगरी, उम्मेदवारले नाम फिर्ता लिने समय दिउँसो १२ः३० देखि १ बजेसम्म समय रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः४५ बजे हुनेछ । बागमती प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा हुने निर्वाचनको मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् । समितिका अनुसार मतदान समाप्त भएपश्चात आजै मतगणना र मत परिणामको घोषणा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *