बितेका आठ वर्ष : अहिलेसम्मकै धेरै गर्मी, सन् २०२२ कस्तो ?

काठमाडौं । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अध्ययनमा आधारित प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन।वैश्विक तथ्यले यो वर्ष बितेका अन्य वर्षको तुलनामा केही चिसो वर्षका रूपमा गनिएको छ। प्रतिवेदनअनुसार विगत १० वर्षमा कम्तीमा पनि एक डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ ।

सन् १९९३ देखि हालसम्म समुद्री सतहको दोब्बर वृद्धि भएको अर्को नयाँ रेकर्ड अध्ययनमा उल्लेख गरिएको छ। त्यस्तै युरोपेली आल्पस क्षेत्रमा अभूतपूर्व रूपमा हिउँ पग्लने संकेत पनि अध्ययनले गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै विश्व मौसम सङ्गठनका प्रमुख पिटर तालासले भने, ‘जति धेरै गर्मी बढ्यो, त्यति नै खराब असरहरू देखिन्छ।’

उनका अनुसार अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको यति उच्च स्तर छ कि पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियसमा त्यो अटाउँदैन।

बढ्दो तापक्रमका कारण हिमनदी र ताजा पानीको सुरक्षा गर्न ढिलाइ भइसकेको उनले प्रष्ट पारे । यो वर्षको अवस्था विश्लेषण गर्दै उनले चरम गर्मी र खडेरी, मौसम र जलवायुसम्बन्धी प्रकोपका कारण अर्बौं खर्च हुनुका साथै विश्वका लाखौँ मानिस प्रभावित बनेको दाबी गरे ।

सबै भागमा गम्भीर अवस्था

वायुमण्डलमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड ग्यासको स्तर उच्च बनेकाले चिन्ताजनक रहेको अध्ययनले बताएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथामा तीव्र हिमगलन, बेमौसमी वर्र्षाका कारण नेपालका विभिन्न भू–भागमा बाढीपहिरोको मार विगत केही वर्षयता दोहोरिँदो छ । त्यस्तै युरोपको हिमक्षेत्र आल्पसमा यो शताब्दीको सुरुवातदेखि हालसम्मको अवधिमा तीन–चार मिटरबीचको औसत मोटाइको क्षति रेकर्ड भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा गर्मीको मौसममा सबै हिउँ पग्लिएको थियो । यस्तो घटना इतिहासमा पहिलो पटक भएको अनुमान गरिएको छ । त्यस्तै विभिन्न देशमा हिमनदीको बरफको मात्रा एक तिहाइभन्दा बढीले घटेको अध्ययनले जनाएको छ । विश्वभरि बढ्दो बरफ पग्लिने क्रमले पछिल्लो ३० वर्षमा समुद्रको सतह द्रुत बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *