‘अब भन्ने त्यो दुःखको दिन गए’

जनकपुरधाम । भनिन्छ, “जे भाग्यले गर्दैन् त्यो व्यापारले गर्छ”, हो सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामको जीवनमा यो भनाइ सत्य सावित भएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उहाँको अब भन्ने त्यो दुःखको दिन गएको छ ।

पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उहाँ अहिले किराना व्यापार गरेर मनग्य आम्दानी लिन थाल्नुभएको छ । गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी रामको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको राम बताउनुहुन्छ ।

“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्युन पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “व्यापार गर्ने इच्छा भए पनि पुँजी आभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर २०७८ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चान गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित माँ भगवती बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ ।

यस्तै सप्तरीको शम्भुनाथ–९ बसलबलपुरकी सुखरीदेवी रामलाई पनि अचेल तरकारी खरिद बिक्री गर्न भ्याननभ्याइ हुन्छ । समान्य लेखपढ गर्नसमेत नजानेकी सुखरीदेवीलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।

एक वर्षअघिसम्म पुँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँ अहिले भन्ने गाउँ नजिकैको सहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै सुखरीदेवीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै सुखरीदेवी भन्नुहुन्छ, “पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधँै काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।” अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उहाँको भनाइ छ ।

“दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउँथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उहाँको भनाइ छ । शम्भुनाथ नगरपालिका–५ की सैन्कीदेवी मण्डल पनि गाउँमै चटपटे पसल सञ्चालन गरी राम्रो आम्दानी कमाइ रहनुभएको छ । केही महिनाअघिसम्म साहु महाजनमा मजदुरी गर्दै आएकी सैन्कीदेवीलाई यतिबेला चटपट बनाएर बिक्री गरी दैनिक रु चार सयदेखि पाँच सयसम्म कमाइ भइरहेको छ ।

आफ्नै घर अगाडि सञ्चालन गरेको चटपट्टी व्यापारले सैन्कीको मात्रै होइन, उहाँको सिङ्गो परिवार नै सुखी र खुसी बनेका छन् । “परिवारका सदस्यको समेत राम्रै साथ पाएकी छु”, उहाँ भन्नुहुन्छ, “चटपटे व्यापार गरेर परिवारको गुजारा चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसँगै परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।”

आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी लक्ष्मीकुमारी, सुखरीदेवी र सैन्कीदेवीको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो । “सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँ नगरौँ भन्ने थाहै थिएन्, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये”, लक्ष्मीकुमारी राम भन्नुहुन्छ, “तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।”

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियामा गठन भएको बचत तथा समुहमा आबद्ध भएकी उहाँहरु त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउनुहुन्छ ।

सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँसँगै नजिकैको कठौना, ट्राफिक बजारलगायतको बजारमा तरकारी व्यापार गर्दै आएकी सुखरीदेवी भन्नुहुन्छ, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु पाँच सयदेखि रु सात सयसम्म कमाइ भइरहेको छ ।”

आफू आबद्ध भएको जितमहान बाबा बचत तथा ऋण समूहबाट रु सात हजार ऋण लिएर सुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उहाँ बताउनुहुन्छ । साधारण लेखपढ गर्न मात्र जानेकी सुखरीदेवी समूहमा लागेपछि निधक्कर्ता पूर्व बोल्न सक्ने मात्र होइन् आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउनुहुन्छ ।

लक्ष्मी कुमारी राम आबद्ध माँ भगवती बचत तथा ऋण समूहमा २१ जना महिला र तीन जना पुरुष गरी २४ जना सदस्य आबद्ध छन् । हरेक सदस्यले बचत समूहका मासिक रु एक सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष रमितादेवी सदाले बताउनुभयो । सदस्यले मासिकरुपमा गरेको बचत रकम रु २४ हजारभन्दा बढी पुगेको छ, समूहका अध्यक्ष सदाले भन्नुभयो, “बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।” जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाइ छ ।

पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामको भनाइ छ । “केही वर्षअघिसम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका चरवाचरवा परिवारका महिला विस्तारै साना व्यवसायमा हौसिदै गएका छन्”, सहजकर्ता राम भन्नुहुन्छ, “पछिल्लो समय उहाँहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिला अघि बढ्न सके आर्थिकसँगै समाजिक क्षेत्रमा समेत ठूलो परिवर्तन आउन सक्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *