ओलीसँग माधव नेपाललाई मिल्न नदिनु नै प्रचण्डका लागि हितकर

काठमाडौं । नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादीलाई फुटाएपछि एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मर्ज गरेर ठूलो शक्ति बन्न खोजेका छन् । त्यसका लागि उनले अनेक फन्डा सुरु गरिसकेका छन् । एकीकृत समाजवादीलाई एमालेमा मिसाउन सके र दुईजना स्वतन्त्र सांसदलाई तान्न सके सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ कि भनेर उनी लागिपरेका छन् ।

यदि ओली सबैभन्दा ठूलो दलको नेता बनेमा त्यसको राजनीतिक रूपमा घाटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भोग्नुपर्ने छन् । ओली सत्ता बाहिर बस्न सक्दैनन् भन्ने कुरा कांग्रेसको गठबन्धन फुटाएर पुष्टि गरिसकेका छन् । अहिले नै उनले एमालेलाई १२ मन्त्रालय, बाँकी अन्य ६ दललाई दिने भनेर घमण्ड देखाइसकेका छन् । जसकारण प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् ।

पार्टीमा मन्त्रीका आकांक्षी धेरै हुनु अनि ओलीले अहिलेदेखि नै पेल्न थालेपछि प्रचण्डले कांग्रेससँगको गठबन्धन टुटाएको फल भोग्न थालिसकेका छन् । त्यसमाथि प्रचण्ड पनि एकीकृत समाजवादीलाई एमालेमा मिलाउन लागिपरेको देखिएको छ । यसले प्रचण्डको शक्ति क्षयीकरण झन् तीव्र रुपमा ओरालो लाग्ने निश्चित छ । यदि माधव नेपालको एकीकृत समाजवादीलाई अलग दलको रुपमा उनले सामेल गराउन सके भने मात्र ओलीलाई साइजमा राख्न सक्छन् । यदि ओलीले निहुँ खोजेमा कांग्रेससँग गठबन्धन गरेर भए पनि सरकार चलाउन सक्छन् ।

त्यही भएर अहिले प्रचण्डको नीति माधव नेपाललाई ओलीसँग दूरी घटाउन होइन, बढाउनतिर हुनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । त्यसो हुन सकेमा मात्र ओलीको रवाफ रोक्न उनी सफल हुनेछन् र साढे दुई वर्ष ढुक्कले सरकार चलाएर ओलीलाई हस्तान्तरण गर्न सफल हुनेछन् । यदि माधव नेपाललाई अहिले नै ओलीको कोटरीमा लगिदिए भने ओलीमा पावर बढ्ने र त्यसको घाटा प्रचण्डलाई हुने देखिन्छ । त्यही भएर अहिले उनलाई एमालेलाई साइजमा राख्न पनि माधव नेपालसँग अलग्गै ढंगले छलफल गर्नुपर्ने निकटस्थहरूले सुझाव दिएका छन् ।

यतिबेला माधव फकाउन ओलीले विभिन्न हथकण्डा अपनाइरहेका छन् । माधव फकाउन अब ओली मात्र कोटेश्वर पुग्न बाँकी छ । विष्णु पौडेल, महेश बस्नेतलगायतका ओलीका दूतले माधवलाई गलाउन सकेका छैनन् । पार्टीमा आए विभिन्न अफर पनि नदिइएको होइन । तर माधव अहिले नै गल्ने नेता होइनन् । उनी ओलीलाई झुकाएर मात्र आफ्नो शक्ति आर्जन गर्न चाहिरहेका छन् ।

त्यसैले उनले नेकपाकालीन पार्टीसँग मात्र एकता हुन्छ भनेर जवाफ दिइसकेका छन् । राजनीति भनेको अनेक सम्भावनाको खेल हो भन्ने कुरा हालैको नेपालको राजनीतिले पनि पुष्टि गरिसकेको छ । पहिलो र दोस्रो दललाई उछिन्दै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *