एमाले र माओवादीसँग पार्टी एकता गर्न नहुने : एकीकृत समाजवादी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने–नहुने भन्नेमा एकीकृत समाजवादीमा दुई धार देखिएको छ । शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा सहभागी नभई आफ्नो शक्तिमा विश्वास गरेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । केही नेताले भने सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर समर्थन वा विरोध गर्नुपर्ने सुझाव दिएका छन् ।

आफ्नो पार्टी सरकारमा नभए प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको कोपभाजनमा पर्न सक्ने, सांसदहरू चोरिन सक्ने भय पनि एकीकृत समाजवादीका नेताहरूमा देखिएको छ । पार्टीका शीर्ष नेताहरूसँग छलफल र संवाद नहुँदा त एमालेले एकतर्फी ढंगले एकीकृत समाजवादी एमालेमा विलय हुने भन्ने प्रचार गरेपछि माधव नेपाललगायतका नेताहरू सतर्क बनेका छन् । यद्यपि यो सरकारमा जाने कि नजाने भन्नेमा स्थायी कमिटी बैठकले निर्णय लिने भएको छ । शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहनेछ ।

शनिबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ किसिमको चुनौती देखापरेको बताएका थिए । उनले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको धारणा राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले वचन तोड्दा वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको र नयाँ गठबन्धन बनेको नेपालको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए । नयाँ परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्न नसक्दा अप्रत्याशित घटना भएको नेपालको भनाइ थियो ।

प्रचण्ड र ओलीको कोपभाजनबाट बच्न पनि केही थान मन्त्री लिएर एकीकृत समाजवादी पार्टीमा सामेल हुने चर्चा छ । प्रचण्डले पनि नेपाललाई सरकारमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । तर औपचारिक रुपमा छलफल भने गरेका छैनन् । विश्वासको मत नलिएसम्म औपचारिक रुपमा सरकारमा सामेल गर्न प्रचण्ड छलफल गर्ने मनस्थितिमा समेत देखिएका छैनन् ।

तर एकीकृत समाजवादीले तत्काल एमाले वा माओवादीसँग पार्टी एकता गर्न नहुने जबर्जस्त आवाज नेताहरुले उठाएका छन् । शनिबार बोल्ने १८ स्थायी कमिटी नेताहरुले बजारमा चलेको हल्ला निस्तेज पार्न पनि पार्टीले संगठन निर्माणलाई ध्यान दिनुपर्ने बताएका थिए । एमालेबाट एकोहोरो ढंगले आएको भ्रमको प्रतिवाद गर्नुपर्ने नेताहरुको भनाइ थियो । उनीहरूले तत्काल एमाले वा माओवादीसँग पार्टी एकता गर्न नहुने धारणा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *