प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।

विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

उनले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।” नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *