ओली र प्रचण्डको प्रहार छल्न माधव र उपेन्द्र सहकार्यतिर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजापछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आन्तरिक समस्यामा परेका छन् । आशातीत सफलता नपाएपछि अहिले यी दुवै दल एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डो निसानामा छन् । कुन बेला कसरी यी दुई पार्टीलाई छिन्न भिन्न बनाउने भन्ने उपयुक्त मौकाको खोजीमा ओली र प्रचण्ड छन् ।

सत्ता निकै क्रूर हुन्छ । आफू सत्तामा पुग्न नेताहरुले जस्तो पनि सम्झौता गर्न पुग्छन् । ओली र प्रचण्ड कुनै समय नदीका दुई किनारा थिए । अहिले अंगालो मारेर हिँडेका छन् । निर्वाचनमा थोरै सिट भएकाले अन्य दलको सहयोगमा सरकार बनाउनु र टिकाउनुपर्ने अवस्था छ । त्यही भएर पाँच वर्ष कसरी टिक्ने भन्ने ध्याउन्नमा ओली र प्रचण्ड लागेका छन् । दुवैले एकीकृत समाजवादी र जसपालाई टार्गेट गरेका छन् । उनीहरूको प्रहारबाट बच्न पनि अहिले माधव नेपाल र उपेन्द्र यादव एकताको रणनीतिमा लागेका छन् ।

निर्वाचन अगाडि तत्कालीन पाँचदलीय गठबन्धनबाट बाहिरिएका जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ मा हारको सामना गर्नुपर्‍यो । केन्द्रीय राजनीतिमा मात्र होइन, मधेसमा समेत कमजोर उपस्थिति भएपछि यादव संसद् प्रवेशको विकल्प मात्र खोजिरहेका छैनन्, शक्ति निर्माणको कोसिसमा पनि छन् ।

नेपाल र यादव आ–आफ्नो पार्टीभित्र हुन सक्ने ‘विद्रोह’ रोक्ने अंकगणितको पनि खोजीमा छन् । जसपाले ससर्त सरकारमा जाने निर्णय लिएको छ भने एकीकृत समाजवादी अझै अनिर्णीत छ । सरकारमा जाने–नजाने र समर्थन दिने–नदिने विषयमा एकीकृत समाजवादीले सचिवालय बैठकबाट निर्णय लिँदै छ ।

एकीकृत समाजवादी र जसपाले एकता चाहनुमा मूलतः दुई दलबीच समान हैसियत र सांगठनिक परिस्थिति मूल कारण देखिन्छ । प्रतिनिधिसभामा अहिले जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ । समानुपातिक मतमा थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले राष्ट्रिय दल बन्ने हैसियत गुमाएको छ । अघिल्लो निर्वाचनमा मधेसभित्र बलियो शक्ति देखिएको जसपा मधेसभित्रै खुम्चिएको छ । संसदमा कमजोर देखिएका यी दल बलियो शक्ति बन्न पार्टी एकता गर्नुपर्ने गृहकार्यमा छन् । दुई दलबीच एकता भए एकीकृत पार्टीको संसदमा २२ सिट छ । यो अहिलेको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा बढी हो । स्वतन्त्र पार्टीको संसदमा २० सिट छ ।

दुवै पार्टीभित्र रहेको फुटको भय पनि नेपाल र यादवमा देखिएको छ । जसपाभित्र अशोक राई, राजकिशोर यादवलगायत नेता अध्यक्ष यादवसँग असन्तुष्ट छन् । आफू संघीय परिषद् अध्यक्ष हुँदाहुँदै उपेन्द्रले आफ्ना विश्वासपात्र रामसहायप्रसाद यादवलाई संसदीय दलको नेतामा चयन गरेपछि राईले पार्टीभित्र आफूलाई अपमानित महसुस गरेको जसपाकै नेता बताउँछन् । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीमा पनि सांसदहरू पार्टी फुटाएर पुरानै घरमा फर्कने भय छ । झलनाथ खनाल खुट्टा उचालेर बसेका छन् । कुनबेला माधव नेपाललाई धोका दिने हुन् यसै भन्न सकिने अवस्था छैन ।

यसबीचमा माधव नेपाल र उपेन्द्र यादवबीच धेरैपटक कुराकानी भएको छ । तर ठोस सहमति भइसकेको छैन । प्रचण्डले विश्वासका मत लिने बेलासम्म यसरी नै सहकार्यको प्रचार जारी राख्ने दुई नेताबीच आन्तरिक सहमति भएको स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *