कर्णालीमा माघी स्नान मेला हुने

काठमाडौँ । कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना थालिएको हो । माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा पाँच हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।

कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताए । उनले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यसवर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताए ।

‘‘कर्णाली नदी पवित्र नदी हो, यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौँ’’, उनले भने, ‘‘कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’’कार्यक्रम सफल पार्न स्थानीयस्तरमा टीकापुर– ५ का पूर्व वडाध्यक्ष रामशङ्कर डगौराको संयोजकत्वमा समिति गठन भएको छ । माघे सङ्क्रान्तिका दिन पहिला ब्राह्मणहरुद्वारा यज्ञ हुने त्यसपछि स्नान हुने बताइएको छ । स्नान कार्यक्रममा महिला र पुरुषका लागि स्नानका लागि फरक–फरक स्थान बनाइँदैछ । यसका साथै नदी किनारमा आगो ताप्ने व्यवस्था, सामूहिक आरतीको व्यवस्था गरिएको छ ।

स्नानपछि प्रसाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाइनमार्फत सम्बोधन गर्नुहुने छ भने अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रममा कैलाली जिल्लाभरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा टीकापुर १ का पूर्व वडाध्यक्ष गङ्गाराम आचार्यले बताए । माघी स्नान मेलाका प्रचारप्रसार समितिका संयोजक ललित थापाले एक हजार ८० किलोमिटर लामो दूरीमा बगेको कर्णाली सुन बग्ने नदी भएकाले कर्णाली पवित्र जल हो भनी स्थापित गर्न खोजिएको बताए ।
कर्णाली नदीको दौलतपुरमा पछिल्ला केही वर्षयता कर्णालेश्वर मन्दिरले स्नानलगायत पूजाआजा गर्ने काम गर्दै आएको छ ।

कर्णाली नदीको प्रचारप्रसारमा सघाउ पुगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले धार्मिक पर्यटकीय विकासमा थप सघाउ पुग्ने स्थानीय बताउँछन् । संस्कृति परिषद्ले टीकापुर क्षेत्रमा विभिन्न धार्मिक र मानवीय कार्य गर्दै आएको छ । परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन पुस ९ र १० गते भारतको काशीमा भएको थियो । सम्मेलनमा टीकापुर, काभ्रेलगायत नेपालका विभिन्न ठाउँबाट नागरिक सहभागी थिए । टीकापुरबाट मात्र ५७ जना सम्मेलनमा सहभागी भएका थिए ।

परिषद्ले यसवर्ष देउसी भैलो कार्यक्रमसमेत गरेको थियो । परिषद्कै सक्रियतामा एकल महिलालाई पोसाक वितरण गरिएको थियो भने विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *