सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । आज (बिहीबार) सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका छन ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताएका छन् । एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता प्रचण्डले गरेको चौधरीको भनाइ छ ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमबिक्रम भाट प्रधानमन्त्रीलाई भेट्न नेताहरु सिंहदरबार पुगेका थिए । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेससँग पनि छलफलमा व्यस्त छन् । माओवादीले जसरी पनि नेतृत्व पाउने प्रचण्डको दावी रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ जना सांसद पुग्ने देखिन्छ ।

प्रदेश प्रमुखले २७ पुस साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् भने प्रदेशसभा सचिवालयले २८ पुसमा सभामुख चयनका लागि निर्वाचन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *