ग्लोबल र बिओकेद्वारा सँयुक्त रुपमा देशव्यापी प्रभातफेरी


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सँयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यका सहित नेपालका मुख्य–मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछ
प्रभातफेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत दुई बैंकका १ हजार भन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता मूलकप्ले कार्ड तथा व्यानर सहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्य–मुख्य शहरमा परिक्रमा गरेका थिए । मर्जर पश्चात् बैंकको कूलपुँजी ५७ अर्ब, चुक्तापूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्बभन्दा बढि र कूलकर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूलपूँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *