फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भएका छन् । उनिहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा सैनिकतर्फ १४ नं बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए । सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ एक सय ४५ वटा तस्बिर प्राप्त भएको बताइएको थियो । सोही समारोहमा प्रधानसेनापति शर्माले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको उद्घाटन पनि गरेका छन् ।

प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *