नबिल बैंकले हेड अफिस बनाउँदै


काठमाडौं । नबिल बैंकले तेस्रो पटक मुख्य कार्यालय हेड अफिस निर्माण गर्ने भएको छ । बैंकले तेस्रो पटकको मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । बैंकले काठमाडौंको बिशालनगरमा रहेको ४१ हजार ४१२.२५ वर्गफुट क्षेत्रफल जग्गामा मुख्य कार्यालय हेड अफिस भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान गरेको हो । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता पीएमसी को जिम्मेवारी लिन दर्ता भएका सिभिल इन्जिनियरिङ् तथा वास्तुकला फर्महरूले आवेदन माग गरेको हो । यसअघि नबिल बैंकको पहिलो हेड अफिस कमलादीमा रहेको थियो । कमलादीमा रहेको भवन हेड अफिसका लागि सानो भएको भन्दै दोस्रो पटक दरवारमार्गमा सारेको थियो । बैंकले आफ्नो व्यवसाय विस्तारसँगै भवन पनि विस्तार गर्दै गइरहेको छ । दरवारमार्गमा रहेको भवन पनि सानो भएको भन्दै बैंकले तेस्रो पटक हेड अफिस सार्ने निर्णय गरेको हो । तेस्रो पटकको हेड अफिस भने नेपाल बङ्लादेश बैंकलाई प्राप्ति पश्चात् आएको जग्गामा निर्माण गर्ने भएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले विशालनगरमा कर्पोरेट अफिस भवन निर्माणका लागि प्रारम्भिक चरणमा प्रवेश गरेको बताए । कन्सलटेन्टले सबै कुराको अन्तिम रुप दिएपछि मात्रै भवन कस्तो र कति लागतमा निर्माण गर्न सकिन्छ भन्ने थाहा हुने उनको भनाइ छ । ‘विशालनगरमा कर्पोरेट अफिस बनाउने प्रक्रिया प्रारम्भिक चरणमा प्रवेश गरेको हो, कति लागत र कस्तो आकारमा भवन निर्माण गर्ने भन्ने कुनै अनुमान नै गरिएको छैन । ‘कन्सलटेन्टहरु प्रिक्वालिफाइड गर्नुपर्यो, कस्तो किसिमको भवन निर्माण गर्न सकिन्छ भनेर सम्झौता गरिन्छ, अहिले कन्सल्टिङका लागि बोलपत्र आह्वान गरेको हो । अध्यक्ष पौड्यालका अनुसार कर्पोरेट भवन बनाईने भएकाले सबै प्रक्रिया पुरा गर्नुपर्छ । तत्कालिन नेपाल बङ्गलादेश बैंकको नाममा रहेको जग्गामा उक्त भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । नयाँ भवनमा सबै डिपार्टमेन्ट रहने उनले बताए । ‘भवन भव्य र ठूलो बन्नेछ, जग्गा पनि ठूलो छ, अहिले कति लागत लाग्ने भनेर कुनै अनुमान भएको छैन, इन्जिजियरहरु आएर डिजाइन गरेपछि मात्रै कति लागत लाग्ने भनेर लागत थाहा पाइन्छ, बैंकको हेड अफिसमा धेरै डिपार्टमेन्टहरु हुन्छन्, नेपाल बङ्गलादेश बैंक हुँदाखेरिको जग्गाको हो । सूचना प्रकाशन भएको १५ दिन अर्थात् माघ २५ गतेसम्म बोलपत्र आवेदन दिन बैंकले आग्रह गरेको छ । भवन निर्माणको लागि आवश्यक प्रारम्भिक अनुमतिदेखि भवन निर्माणपश्चात् आवश्यक पर्ने कामहरु गर्नुपर्नेछ । सर्वेक्षण, प्राविधिक सम्भाव्यता, लेआउटरल्याण्डस्केप चयन, भू–प्राविधिक अध्ययन, भूकम्प र वातावरणीय अध्ययन र विस्तृत डिजाइन, परिमाण र लागत अनुमानलाई अन्तिम रूप दिनुपर्नेछ । इच्छुक र योग्य बोलपत्रदाताहरूले आवश्यक कागजातसहित १० हजार रुपैयाँ शुल्क तिरेर काठमाडौंको घण्टाघरस्थित बैंकको प्रशासन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक बोलपत्रदाताले विगत ५ वर्षमा कम्तिमा २ वटा व्यावसायिक भवन निर्माणका लागि पीएमसी गरेको हुनुपर्नेछ । साथै, ३० हजार वर्गफिटको २ सय मिलियन डलर लागत भएको हुनुपर्नेछ । इच्छुक बोलपत्रदातासँग सिभिल कन्स्ट्रक्सन, इन्जिनियरिङ र आर्किटेक्चरल क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव र विगत ५ वर्षमा कम्तिमा २ भवनको परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । बोलपत्रहरू फागुन ३ गते बिहान ११ बजे नबिल बैंकको घण्टाघर कार्यालय भवनमा खोलिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *