राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा थापा


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापालाई भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा थापालाई नियुक्तिपत्र हस्तान्तरण गरे । अनन्तलाई गंगा गुरुङले सहायक प्रशिक्षकका रुपमा सघाउनेछन् । त्यस्तै सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षकका रुपमा अनन्तलाई सघाउनेछन् । नेपाली राष्ट्रिय महिला टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारत भ्रमणका लागि एन्फाले बृन्दा देवानलाई टिम म्यानेजरमा नियुक्त गरेको छ । एन्फाले महिला साफ च्याम्पियनसिपका लागि सशस्त्र प्रहरी बलका कुमार थापालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । फाइनलमा बंगलादेशसँग पराजित भएपछि थापाले पदबाट राजीनामा दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *