पार्टीभित्रै विवाद उत्पन्न भएपछि रवि चिसै पानीले नुहाउन बाध्य, सरकार छाड्न नहुने दबाब

काठमाडौं । गृह मन्त्रालयको लफडामा परेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचेखुचेको छवि पनि ध्वस्त पार्न उद्यत देखिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले सांसदको पद खारेर भएपछि उनी अहिले सर्वसाधारण मात्र हुन् । तर उनले ६ महिने मन्त्री पाउन ठूलै लफडा निकालेका छन् । त्यसका लागि गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने भन्दै रविले लफडा निकालेका छन् ।

बिहीबार दिनभर रवि नेतृत्वको पार्टी सरकारबाट बाहिरिने भन्ने विषयले राजनीति तताइरह्यो । तर, साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको फोनले रविले यो जाडोमा पनि चिसै पानीले नुहाएका छन् । अर्थात् अझै दुई दिन रास्वपाले कुर्ने भएको छ । यदि प्रचण्ड र ओलीकै फोनमा म अभिमन्यु होइन भन्दै धम्की दिने रविले किन बोल्ड निर्णय गर्न सकेनन् ? भन्दै उनको आलोचना भइरहेको छ ।

राजनीतिमा नेताले बोलेको पूरा गर्नुपर्छ । होइन भने नपुग्ने, गर्न नसक्ने घोषणा गर्नुहुँदैन । रविले बिहीबार केन्द्रीय समिति र संसदीय दलको बैठक एकैपटक बोलाएर सरकार छाड्ने निर्णय गर्न लागेका थिए । तर रास्वपामै दुई धार जन्मेपछि उनी बहादुरीपूर्वक पछि हट्न बाध्य भएको सबैले बुझेका छन् । अहिले सर्सती हेर्दा काठमाडौं ८ बाट प्रतिनिधिसभामा विजयी भएका विराजभक्त श्रेष्ठ, गणेश कार्कीलगायत आगामी दिनमा रविको बाटोको तगारो बन्ने निश्चित देखिएको छ । उनी बैठकमा कडा रूपमा प्रस्तुत भएपछि रविको नौ नाडी गलेको नेताहरु बताउँछन् ।

महामन्त्री मुकुल ढकालले पार्टीभित्र वा बाहिर भइरहेको राजनीतिक चर्चाबारे बिफ्रिङ गरेपछि केन्द्रीय सदस्य र सांसदहरूले आ–आफ्नो भनाइ राखे । संयुक्त बैठकमा बोल्दै केन्द्रीय सदस्य गणेश कार्की सभापति लामिछाने र महामन्त्री ढकालप्रति खनिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कैयौं योग्य नेता छन् । तर एउटा गतिलो महामन्त्री किन छैन ?’ भन्दै गम्भीर प्रश्न गरे ।

दायाँबायाँ हेरेर बोल्न खोजिरहेका उनै ढकाललाई नेता कार्कीले अर्को प्रश्न गरे । ‘सभापतिज्यू,हामीहरूले नेपाली जनताको मन र मत जितेका छौँ । हाम्रो पार्टी कमजोर बनाउने खेला सुरुबाटै भइरहेको छ । तर तपाईंको दायाँबायाँ बस्नेहरूको अनुहार हेर्नोस् त,कस्ता–कस्ता पात्र छन् ?,’ उनले भने, ‘पार्टीलाई पार्टीजस्तै बनाऊँ । नेताहरूलाई मिडियामा प्रतिबन्ध लगाउने काम नगरौँ । हामीहरू संकटको डीलमा छौँ । तत्काल सरकारबाट बाहिरिने कुरा नगरौँ ।’

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गृह मन्त्रालय नपाएकै कारण सरकारबाट बाहिरिन नहुने तर्क राखे । ‘हामीहरूले राजनीतिमा अप्ठेरो बाटो रोजेका छौँ। हामी सुध्रिनुपर्छ,राजनीति पनि सुधारौँ। बिचलित हुनुहुँदैन । अहिल्यै सरकार नछाडौँ,’ उनले भनेका थिए ।कतिसम्म भने आफूले गृह मन्त्रालय नपाए रवि पार्टी विभाजन गर्नसम्म लागिपरेको बुझिएको छ ।

त्यसका लागि केही सांसदलाई तयार पारेर राखिएको स्रोतले बतायो । तर आफ्नो निर्णय पार्टी र आफ्नै लागि प्रत्युत्पादक हुने देखेपछि रविको पारो ओर्लिएको छ । हिजो टेलिभिजनमा कराएर, अर्कालाई गाली गरेर लोकप्रियता कमाएका रवि अहिले जुन ढंगले अघि बढेका छन्, त्यो राम्रो संकेत भने होइन । प्रचण्ड र ओलीले पाँच दशकभन्दा बढी जीवन राजनीतिमा बिताइसकेका छन् । एउटा रविले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रचण्ड नेतृत्वको सरकार ढल्ने पनि होइन ।

बरु उनकै पार्टीले आगामी निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपर्ने सम्भावना धेरै छ । किनभने नेपालको राजनीति शुद्धीकरण गर्छु भनेर आएका रवि अहिले दिनहुँ बालकोट र बालुवाटार धाउन विवश छन् । गैरसांसद भइकन पनि मन्त्रीका लागि रोइकराई गरिरहेका छन् । यसले उनको निर्वाचन क्षेत्र चितवन २ का मतदाता लाजले भुतुक्कै भएका छन् । कम्तीमा पनि रविबाट सत्ताको यस्तो आशक्ति उनीहरूले कल्पनासमेत गरेका थिएनन् । त्यसैले अहिले रवि दिनहुँ बचेखुचेको छवि बिगार्न दौडमा किन लागेका होलान् भन्दै उनको आलोचना हुन थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *