नेपालका तेस्रो राष्ट्रपतिमा पूर्व सभामुख दमननाथ ढुंगानाको नाम

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू तथा सातै प्रदेशका प्रदेश सभाका सदस्यहरू मतदाता रहन्छन् । तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार भने फरक फरक हुन्छ।

निर्वाचन नजिककिंदै गएपछि सम्भावित उम्मेदवारहरूको बारेमा पनि चर्चा परिचर्चा सुरु भएका छन् । सत्तारुढ दलहरूको गठबन्धन यस चुनावमा एकताबद्ध भएर प्रस्तुत हुने संभावना पनि क्षिण हुँदै गएको छ भने नेपाली कांग्रेसले यही चुनाव मार्फत राष्ट्रिय राजनीतिको अहिलेको समिकरणलाई बदल्ने रणनीति लिएको छ । स्वतन्त्र समाचार सेवालाई प्राप्त उच्चस्तरीय राजनीतिक सुत्र अनुसार राष्ट्रपति चुनावको लागि यस अगाडि चर्चामा आएका नामहरू भन्दा फरक तर राष्ट्रिय रुपमा स्थापित एक व्यक्तित्वको नाममा नेपाली कांग्रेस र नेकपा माओवादी बीच सहमति हुने अवस्था बनेको छ ।

सो सुत्र अनुसार भावी राष्ट्रपतिमा नेपालको लोकतान्त्रिक आन्दोलनका एक मूर्धन्य व्यक्तित्व एवं पूर्व सभामुख दमननाथ ढुंगानाको नाममा कांग्रेस र माओवादी नेताहरू बीच छलफल भैरहेको र कांग्रेसले ढुंगानाको नाम प्रस्तावित गरेमा माओवादीले सहजै स्वीकार गर्ने संकेत दिएको छ ।

यसैगरी कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पनि संभावित उम्मेदवारको रुपमा चर्चामा छ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले ती २ नामलाई चर्चामा ल्याएपछि पौडेल र सिटौला मध्ये कस्लाई बनाउने भनेर कांग्रेस भित्र बहस चलिरहेको छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल दुवैको पहिलो रोजाइमा भने वरिष्ठ नेता पौडेल नै हुनुहुन्छ। तर नेकपा माओवादी भित्रको बहसले कांग्रेसको कोर नेतालाई भन्दा राष्ट्रिय छबि भएको र २०६२–६३ को परिवर्तनलाई दीगो बनाउन सक्ने व्यक्तित्वको खोजी गरेकोले माओवादी भित्रैबाट ढुंगानाको नाममा चर्चा सुरु भएको हो ।

माओवादी भित्र डा.बाबुराम भट्टराईलाई पनि राष्ट्रपति उम्मेदवारका रुपमा चर्चा गरिने गरिएको छ। सकेसम्म डा.भट्टराईलाई नै अगाडि बढाउन नसके स्वतन्त्र व्यक्तित्वको नाममा सहमति बनाउन सहज हुने भएकोले ढुंगानाको नाम अगाडि आएको हो ।

राष्ट्रपतिको संभावित उम्मेदवारको रुपमा पूर्व प्रधान न्यायधिशहरू खिलराज रेग्मी र कल्याण श्रेष्ठको नामपनि केहि अगाडिसम्म चर्चामा आएको थियो। तर अहिले दलहरू राजनीतिक व्यक्तित्व नै राष्ट्रपति हुनु पर्ने धारणामा पुगेकोले रेग्मी र श्रेष्ठको नाम अहिले छलफलमा छैन ।

स्वतन्त्र समाचार सेवाले पूर्व सभामुख एवं नेपालको नागरिक आन्दोलनका शीर्ष व्यक्तित्व दमननाथ ढुंगानालाई यो चर्चाबारे प्रश्न राख्दा उहाँले आफुसमक्ष हालसम्म त्यस्तो प्रस्ताव नआएको जवाफ दिनु भएको छ। राष्ट्रपतिको उम्मेदवार बन्नेबारे दलहरूबाट प्रस्ताव आइनसकेकोले बहसबारे आफुले कुनै धारणा नबनाएको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

वर्तमान संविधानको रक्षा र त्यसको कार्यान्वयनका लागि राष्ट्रपति संस्थाको रणनीतिक भूमिका बढेर गएको तथा नेपालको भूराजनीतिक जटिलता पनि बढेकोले यो बेला राष्ट्रपति संस्थाको गरिमा अझ गहन हुनुपर्ने महशुस गरिएको तथा मानव अधिकार र लोकतन्त्रको मामिलामा नेपालको अन्तर्राष्ट्रिय छवि खस्केको हुनाले सोलाई उठाउन पनि राष्ट्रपतिमा मुलुक र संसारले चिनेको र नेपालको शान्ति प्रक्रियाको चुरो बुझेको व्यक्तित्वको रुपमा ढुंगाना राष्ट्रपतिको रुपमा रोजाईमा पर्नु भएको सुत्रको तर्क छ ।

ढुंगाना नेपालमा संविधान सभाको निर्वाचनको मिलन बिन्दुमा तत्कालिन माओवादी र मूलधारका राजनीतिक दलहरूलाई ल्याउन सफल नागरिक अगुवा हुनुहुन्छ। साथै २०६२/६३ को जनआन्दोलनका एक प्रमुख नागरिक अगुवाको भूमिका उहाँले खेल्नु भएको थियो । उहाँ २०४६ चैतमा प्रजातन्त्र पुर्नस्थापना पछि २०४८ बैशाखमा सपन्न आम निर्वाचन पछि निर्वाचित सभामुख पनि हो ।

आइएनएस-स्वतन्त्र समाचार

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *