गठबन्धन भत्किन लागेको संकेत, राप्रपा प्रमुख सचेतक शाहीले नै संसदमा गरे सरकारको खोजी

काठमाडौं । सातदलीय गठबन्धन भत्किन लागेको संकेत देखिएको छ । केही दिनयता सरकारमा रहेका मन्त्रीहरूको निष्क्रियताले यस्तो संकेत गरेको छ । अहिले सरकारमा एमाले, माओवादी, राप्रपा र जनमत पार्टी भए पनि माओवादी बाहेकका मन्त्रीहरू निष्क्रिय छन् ।

अर्थमन्त्री विष्णु पौडेलले वित्तीय समस्या सुधार गर्न इच्छा नदेखाउनु र अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सक्रियता नदेखाउनुले सरकार चाँडै परिवर्तन हुन लागेको संकेत गरेको हो । संसदमै सत्तारुढ दलकै प्रमुख सचेतकले सरकारको खोजी गरेपछि गठबन्धनमा भयंकर समस्या देखिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देशमा सरकारको खोजी गरे ।

उनले हालै बालाजुमा भएको तोडफोड र लुटपाटको घटनामा प्रहरीलाई पंगु बनाइएकैले सुुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । ‘यद सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो ?’ उनले प्रश्न गरे । राप्रपाका मन्त्रीहरू पनि अहिले बाहिर कतै देखिएका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण सोध्ने चेतावनी दिएपछि विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान निष्क्रिय देखिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेकाले गठबन्धन भत्किने शंका व्यक्त गरिसकेका छन् । ‘संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ। बहुमत कसैको छैन। त्यसैले अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्ति यो देश बर्बाद पार्न क्रियाशील छन्,’ मंगलबार अखिल महाधिवेशन उदघाटन गर्दै ओलीले भने ।

माओवादी केन्द्रले फागुन १० गतेअघि नै राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । ओली बुधबार बिहान बालुवाटार पुगेका हुन् । ओलीले प्रचण्डसँग फाइनल कुरा गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *