सन् २०२२ मा कति भए मानवअधिकार उल्लंघन र ज्यादतीका घटना ?

काठमाडौं । सन् २०२२ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ७ हजारा बढी व्यक्ति पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएका जनाएको हो ।

सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । मानवअधिकार वर्ष पुस्तकमा सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ पुरुष र तीन जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्ष कुन्दन अर्यालले मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटनामा वृद्धि हुँदा सरकार नागरिकप्रतिको दायित्वमा सचेत हुनुपर्ने बताए । इन्सेकले वर्ष पुस्तकमा दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममुखी तदारुकता नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *