जन्ममिति विवादमा डीआईजी सिंह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारेमा छानविन थालेको छ ।

भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । डीआईजी सिंह उमेर झुक्याएर सेवामा बहाल रहेको आरोपमा मुछिएका छन् । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । त्यस्तै अख्तियारको उजुरीको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयले समेत आन्तरिक छानविन अघि बढाएको छ ।

डीआईजी सिंहले १८ वर्ष पूरा भएपछि नागरिकता प्राप्त गरेको देखिन्छ । उनले प्रहरी सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जारी मिति २२ जेठ, २०४२ रहेको उल्लेख गरिएको छ । तर १८ वर्षमा प्रहरी सेवा प्रवेश गरेको देखाउन त्यति बेला सिंहले आफ्नो जन्म मिति १६ पुस, २०२५ टिपाएको देखिएको छ ।

अख्तियारमा गत बुधबार परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गरिएको छ । ३० वर्ष प्रहरी सेवामा रहँदा सिंहका विरुद्ध उजुरी परेको थिएन । तर बढुवाको मुखमा उजुरी परेको हो ।

उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्य सचिव, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको छ ।

उच्च स्रोतका अनुसार प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रभक्त श्रेष्ठले नागरिकता जारी गरेका हुन् ।

नागरिकताको उमेरअनुसार उनको जन्ममिति विसं २०२४ हुनुपर्ने हो । नागरिकतामा जन्म महिना र गते उल्लेख छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारी उमेरमा महिना र गते उल्लेख नभए नागरिकता जारी भएको मितिलाई नै महिना र गते मानिने बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *