एकैपटक ६ दलले सर्मथन फिर्ता लिँदा लुम्बिनीमा बन्ला कांग्रेस नेतृत्वमा नयाँ सरकार ?

काठमाडौं । लुुम्बिनी प्रदेश सभामा कूल ८७ संख्या छ । सरकार बनाउन बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । अहिलेको सत्ता गठबन्धनसँग ४५ सांसद छन् । मुख्यमन्त्री एमालेका लिला गिरी छन् । प्रदेश सभामा पहिलो दल रहेको एमालेसँग २९ र माओवादी केन्द्रका १० सांसद छन्। सरकारलाई साथ दिएको राप्रपाका चार र जसपाका तीन सांसद छन्। राप्रपाले समर्थन फिर्ता लिएको छैन ।

मुख्यमन्त्री गिरीलाई माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र दुई स्वतन्त्र सांसदको समर्थन छ। अब राप्रपा र दुई स्वतन्त्र सांसदबाहेक सबै नयाँ गठबन्धनमा सामेल भएका छन् । प्रदेश सभामा प्रत्यक्ष १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

लुम्बिनी प्रदेश सरकारबाट एकैपटक ६ वटा राजनीतिक दलले समर्थन फिर्ता लिने भएका छन्। राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा रहेका ६ वटा राजनीतिक दलले प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नेपाली कांग्रेस र एकीकृत समाजवादीसहित आठ दलको बुधबार भालुवाङमा बसेको बैठकले एकैपटक समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई समर्थन दिएका दलले एकैपटक समर्थन फिर्ता लिएर त्यसपछि आठ दलको संयुक्त सरकार बन्ने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको भनाइ छ। शुक्रबार एकैपटक ६ दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री गिरी अल्पमतमा पर्ने भएका छन् । तर प्रदेशमा एमाले नै सबैभन्दा ठूलो दल भएकाले संविधानअनुसार एमालेकै अल्पमतको सरकार बन्न सक्ने परिस्थिति पनि छ । यदि प्रदेश प्रमुखले संविधानको अर्को धाराअनुसार सरकार बनाउन पत्र लेखेमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *