तत्काल माओवादी धारका पार्टीबीच एकता असम्भव, कार्यगत एकता भने हुनसक्ने

काठमाडौं । सशस्त्र द्वन्द्वकालीन मुद्दा ब्यूँताउन खोजेर आफूविरुद्ध अदालतमा मुद्दा परेपछि माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सकसमा परेका छन् ।

१० वर्ष राज्यविरुद्ध एक्लै लडेको माओवादी अहिले छिन्नभिन्न छ । माओवादी नाममा सात आठवटा पार्टी बनेका छन् । संक्रमणकालीन मुद्दा लम्बिँदै जाँदा माओवादी नेताहरू पनि आपसमा विभाजित भए । विगतमा पार्टी फुट्दा मौन देखिएका प्रचण्ड अहिले आफूमाथि तरबार झुन्डिएपछि पुनः सबै माओवादी नेतालाई गोलबन्द गर्न लागिपरेका हुन् ।

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वमाओवादी नेताहरु एक ठाउँमा उपस्थित भएका थिए । सोही दिनदेखि पूर्वमाओवादीहरु एक ठाउँमा हुनुपर्ने सन्देश प्रचण्डले प्रवाह गर्न थालेका हुन् ।

पूर्वमाओवादी नेताहरू मिल्नुपर्ने विषयमा बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, सीपी गजरेललगायत नेताहरु पनि यसमा एक मत छन् । मंगलबार पनि पूर्वमाओवादी धारका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएर संक्रमणकालीन मुद्दा उचालिएकोमा आपत्ति जनाउँदै प्रतिवाद गर्ने निर्णय गरेका छन् । अहिले माओवादी धारका नेताहरूबीचको दैनिकजसो भेटघाटले आगामी दिनमा फेरि पूर्वमाओवादीहरू एक ठाउँमा उभिन सक्ने सम्भावना भने बढेको छ ।

बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड, भट्टराई, सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायतका नेताहरु थिए । तर मोहन वैद्य र विप्लव भने गएनन् ।
द्वन्द्वकालीन मुद्दालाई लिएर माओवादीविरुद्ध घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै सबैले अब एक जुट हुनुपर्ने धारण व्यक्त गरेका थिए । यो मुद्दालाई अहिलेको अदालतले हेर्न नसक्ने उनीहरूको जिकिर छ ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउन दबाब दिने उद्देश्यले माओवादी धारहरूको बैठक आगामी फागुन २६ गते बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले जानकारी दिए । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले सङ्क्रमणकालीन न्याय टुंगो लगाउने विषयमा कार्यगत एकता हुन सक्ने बताए । तर पार्टी एकताको सम्भावनाबारे उनले केही भनेनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *