राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने

काठमाडौं । आज हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ ।

मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन । ‘

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

कति मत पाउँदा बहुमत पुग्छ ?

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा ८ सय ८१ मतदाता छन् । राष्टियसभाका ५९ र प्रतिनिधिसभाका ३ सय ३१ सांसदहरुले मतदान गर्दैछन् भने प्रदेशसभाका ५ सय ५० जना मतदाता छन् ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये एक रिक्त, एक निलम्वित र एकजनाको मृत्यु भएका कारण तीन सदस्य खाली छन् । चितवन २ का सांसद रवि लामिछाने पदमुक्त भएका छन् भने मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्वित छन् । जसपा सा‌ंसद रहनाज रहनाजको मतदाता सूचीमा नाम रहे पनि मृत्यु भएको छ ।

एकजना संघीय सांसदको मतभार ७९ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति निर्वाचनको जम्मा मतभार ५२ हजार ६ सय २८ हो । बहुमतका लागि २६ हजार ३ सय १५ कटाउनुपर्नेछ ।

संघीय संसदका ३ सय ३२ सांसदको जम्मा मतभार २६ हजार २ सय २८ भने प्रदेशसभा सदस्य ५ सय ५० को जम्मा मतभार २६ हजार ४ सय रहेको छ ।

राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने छ । कुनै पनि उमेदेवारले ५० प्रतिशत नकटाएको खण्डमा पुनः मतदान हुनेछ । पुनः मतदानमा ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । दोस्रो पटकमा पनि ५० प्रतिशत नकटाए तेस्रो पटकको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *