कांग्रेसले चितवन २ र तनहुँ २ मा कसलाई देला टिकट ? यी हुन् आकांक्षी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गर्ने व्यवस्था छ ।

यही व्यवस्थाबमोजिम आयोगले चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरिसकेको छ । आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ । चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएसँगै तनहुँ–१ रिक्त भइसकेको छ । पौडेलले सांसदबाट राजीनामा दिएका कारण तनहुँ २ मा पनि सांसद पद रिक्त हुन लागेको छ । राष्ट्रपति पौडेलले सोमबार सांसद पदबाट राजीनामा दिएका थिए । पौडेलले संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका हुन् थियो ।

सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर लेख्नुभएको राजीनामा सोमबार नै संसदमा दर्ता भएको छ । राष्ट्रपतिमा निर्वाचित व्यक्ति कुनै पनि राजनीतिक दलसँग आवद्ध हुन नपाइने संवैधानिक व्यवस्थाबमोजिम उनले सांसद पदबाट राजीनामा दिएका हुन् । विदेश भ्रमणबाट फर्केलगत्तै सभामुख घिमिरेले तनहुँ २ मा सांसद पद रिक्त रहेको निर्वाचन आयोगलाई पत्र पठाउने छन् । त्यसपछि आयोगले त्यहाँ पनि उपनिर्वाचन गराउने छ ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए आयोगले चितवन २ र तनहुँ १ सँगै उपराष्ट्रपतिमा निर्वाचित हुने सांसदको क्षेत्रमा एकैसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी गरेको हो ।चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । झा र शाक्य समानुपातिक सांसद हुन् । यादव भने बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

आठदलीय गठबन्धनको साझा उम्मेदवार भएकाले यादव उपराष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बढी छ । यदि यादव उपराष्ट्रपतिमा निर्वाचित भएमा बारा २ मा पनि सांसद पद रिक्त हुनेछ । त्यहाँ पनि उपनिर्वाचन गराउनुपर्ने भएकाले निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा एकैपटक उपचुनाव गर्ने गरी कार्यतालिका संशोधित गर्ने तयारी गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आर्थिक वर्ष २०७९–८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिए । यो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने उनको भनाइ छ ।

यदि आयोगले त्यो नियम लागू गरेमा रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवार बन्न पाउने छैनन् । उनको मतदाता नामावलीमा नाम सच्याउनुपर्ने अवस्था छ । पुरानै नागरिकताबाट नामावली बनेकाले उनलाई संकट पर्ने भएको हो । प्रतिनिधिसभाको उम्मेदवार बन्न मतदाता नामावलीमा नाम हुनै पर्ने बाध्यकारी व्यवस्था छ ।

नेपाली कांग्रेसले चितवन २ मा केन्द्रीय सदस्य उमेश श्रेष्ठ र कांग्रेसका पूर्वचितवन सभापति जितनारायण श्रेष्ठमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ । उमेश श्रेष्ठ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रवि लामिछानेसँग पराजित भएका थिए । तर, यसपटक जितनारायणको दाबी पनि रहेकाले कसले टिकट पाउँछ अहिले नै भन्न सकिने अवस्था छैन ।

तनहुँ २ मा भने कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भट्टराई उम्मेदवार बनाउने बचन दिइसकेका छन् । भट्टराई नेविसंघका पूर्वअध्यक्ष हुन् । तनहुँ २ मा भट्टराईका अलावा रामचन्द्र पोखरेल, ध्रुव वाग्लेलगायतको पनि दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *