स्ववियु निर्वाचन : कति वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित ?

काठमाडौं । स्ववियु निर्वाचनको आजबाट मौन अवधि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु निर्वाचन हुने भएको छ ।

त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीका अनुसार उपत्यकाको ५ र उपत्यका बाहिरका ४ गरी जम्मा ९ वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित भएको हो । । काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस विश्वभाषा, रत्नराज्य क्याम्पस, ललितपुरको पाटन संयुक्त र कीर्तिपुरको केन्द्रीय आयुर्वेद क्याम्पसको मतदान स्थगित भएको अधिकारीले बताए ।

यसैगरि उपत्यकाबाहिर सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस वाग्लुङ र पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा वन क्याम्पस गरी चार वटामा निर्वाचन स्थगित भएको छ ।

नेविसंघका वागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।

सदस्य सचिव प्रा. अधिकारीले स्थगित भएका क्याम्पसले ३० दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था भएको बताउँदै उनले भने“‘निर्वाचनसम्बन्धी निर्देशिकामा चैत ५ गते निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सबै क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेका छौं ।”

निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनेछन् । देशभरका दुई आंगिकसहित ७० वटा क्याम्पसमा निर्विरोध स्ववियु पदाधिकारी चयन भएको छ । ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *