तनहुँ २ र चितवन २ मा कांग्रेसबाट उम्मेदवार हुनेको लर्क

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन २ मा वैशाख १० गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले अन्य दुई क्षेत्रमा पनि सोही मितिमा निर्वाचन हुने बताएको छ । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।

रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपति निर्वाचित भएसँगै उनले सोमबार सांसद पदबाट राजीनामा दिएपछि तनहुँ १ रिक्त भएको थियो । शुक्रवार मात्रै बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र पनि खाली भएको छ । त्यसअघि दोहोरो नागरिकतासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ पनि खाली भएको थियो ।

निर्वाचनमा हुन सक्ने सम्भावित समीकरणलाई लिएर दलहरूले अहिले नै उम्मेदवारीबारे औपचारिक छलफल थालेका छैनन्, तर आकांक्षीको भने चर्चा सुरु भएको छ । कांग्रेस कार्यसम्पादन समिति बैठकले तनहुँ २ र चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नामबारे निर्णय गरेर उपयुक्त समयमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो ।

कांग्रेसबाट तनहुँ २ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, पूर्वप्रदेश सभा सदस्य तथा पूर्वप्रदेशमन्त्री दोबाटे विश्वकर्मा र सरिता गुरुङको नाम चर्चामा छ । तनहुँ जिल्ला सभापति जितप्रकाश आलेका अनुसार केन्द्रबाट नाम माग नभएकाले जिल्लाबाट केही निर्णय भएको छैन ।

चितवन २ मा यसअघि पराजित पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनले यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए । तर, आयोगले दोस्रो मत पाएकालाई स्वतः निर्वाचित हुने कानुनी व्यवस्था नरहेको जानकारी गराएको थियो ।

कांग्रेसका चितवन सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन् । यसबाहेक केन्द्रबाट अर्थविद् डा। स्वर्णिम वाग्लेको नाम पनि चर्चामा छ । जिल्ला सभापति खनालले स्ववियु निर्वाचनपछि जिल्लामा आफूसहितका आकांक्षीका विषयमा छलफल हुने बताए । आइतबार स्ववियु निर्वाचन हुँदैछ । सोमबारदेखि नै कांग्रेसले उम्मेदवारका विषयमा छलफल गरेर केन्द्रमा नाम सिफारिस गर्ने तयारी गरेको छ ।

बारा २ मा भने कांग्रेसले उम्मेदवार उठाउने नउठाउने निश्चित छैन । हाल दश दलीय गठबन्धन छ । गठबन्धनमै रहेको दल जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ मा उठ्ने चर्चा छ । त्यसैले उपेन्द्रका लागि कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार नउठाउने बुझिएको छ । अब बारा २ मा जसपा, एमाले र जनमत पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने सम्भावना छ । बारा २ मा जसपा, एमाले र माओवादी केन्द्रको बलियो संगठन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *