रविलाई मुद्दा नचलाउने डिजाइनर काठमाडौं सिडिओ कार्यालय तिब्बतीयनलाई नागरिकता काण्डमा फस्यो

काठमाडौं । दोहोरो राहदानी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने काममा प्रमुख भूमिका खेलेको जिल्ला प्रशासन कार्यालय काठमाडौं तिब्बतीयनलाई नेपाली नागरिकता दिने काण्डमा फसेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय छन् । यनले नै लामिछानेलाई दोहोरो राहदानी कसुरमा मुद्दा नचलाउन कागजपत्र बनाउन लगाएका थिए ।

एउटै नागरिकताका कारण सांसद पद खारेज हुने तर दोहोरो राहदानी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ता दीनमणि पोखरेलले आदेश दिनुमा सिडिओ कार्यालयको कागजपत्रलाई प्रमुख आधार बनाइएको थियो । ४२ दिन गृहमन्त्री बन्दा लामिछानेले सिडिओ उपाध्यायलाई आफ्नो प्रभावमा पारिसकेका थिए । अहिले उपाध्यायकै कमान्डमा चल्ने सिडिओ कार्यालयमा अर्को राष्ट्रद्रोही र देशद्रोही गतिविधि हुने गरेको फेला परेको छ ।

कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने गरेको तथ्य खुलेको छ । यस्तो गिरोहमा संलग्न चारजना पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो । प्रहरीका अनुसार यो गिरोहले अहिलेसम्म पाँच सयभन्दा धेरै तिब्बती नागरिकको नेपाली नागरिकता बनाइसकेको छ । जसमध्ये ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै नागरिकता नक्कली कागजात खडा गरी बनाइदिने गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

प्रहरीका अनुसार नागरिकता बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटका दुई अधिकृत, एक सुब्बा र एक खरिदारको संलग्नता रहेको छ । प्रहरीले गिरोहमा संलग्न कृष्णबहादुर कटुवाल, न्युल्केस श्रेष्ठ, हिरालाल सिवाकोटी, लोब्साङ र विजय लामालाई पक्राउ गरेको छ ।

यस्तो धन्दामा संलग्न अभियुक्त पहिचान भइसकेको, तर कानुनी प्रक्रिया पुर्‍याउन बाँकी भएकाले तत्काल पक्राउ नगरिएको एसपी राठौरले बताए । प्रशासन कार्यालयपरिसरमै रहेको क्यान्टिनका सञ्चालकले उनीहरूसँग ‘सेटिङ’ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले यसमा सिडिओ उपाध्याय पनि तानिन सक्ने अनुमान गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नागरिकता फाँट हेर्न छुट्टै सहायक प्रमुख जिल्ला अधिकारीको व्यवस्था छ । उनको मातहतमा अधिकृत, सुब्बा र खरदार रहने व्यवस्था छ । उनीहरूकै मिलेमतोमा नक्कली कागजात खडा गरी तिब्बती नागरिकको नेपाली नागरिकता बन्ने गरेको प्रहरीको भनाइ छ । काठमाडौंको सहायक सिडिओ देवी पाण्डे खत्री छिन् । उनी हालै मात्र त्यहाँ पुगेकी हुन् । तर उपाध्याय भने लामो समयदेखि सिडिओ छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *