सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि सरकारले नाम तोकेरै वस्तु आयातमा कडाइ गरेको थियो । जसकारण धेरै विदेशी मुद्रा र नेपाली रुपैयाँ विदेशिनबाट रोकिएको थियो ।
तर पछिल्लो तीन महिनायता (मंसिरदेखि माघसम्म) आयात बढ्न थालेको छ । भन्सार विभागका अनुसार फागुनमा मात्रै एक खर्ब ३९ अर्बको वस्तु आयात भएको छ ।

मंसिरमा एक खर्ब ३२ अर्बको वस्तु आयात भएको थियो । त्यसपछिका दुई महिना आयातमा निरन्तर गिरावट आयो । पुसमा एक खर्ब २७ अर्ब र माघमा एक खर्ब २६ अर्बका वस्तु आयात भयो ।गत वैशाखदेखि पुससम्म सरकारले केही वस्तुको आयातमाथि लगाएको प्रतिबन्ध र शतप्रतिशत नगद मार्जिनको व्यवस्थाका कारण चालू आर्थिक वर्षमा तुलनात्मक रूपमा आयात घटेको थियो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा १३ खर्ब आठ अर्बको वस्तु आयात भएको थियो । चालू आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्बबराबर वस्तु आयात भएको छ ।

अत्यधिक आयात हुनेमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, कच्चा खानेतेल, स्मार्टफोन, सुनलगायतका वस्तु छन् । विभागका अनुसार आठ महिनामा ९८ अर्ब ९५ करोडको डिजेल, ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको खाना पकाउने ग्यास, १४ अर्ब ५१ करोडको हवाई इन्धन, २७ अर्ब ६७ करोडको भटमासको कच्चा तेल, १० अर्ब ९८ करोडको सूर्यमुखी कच्चा तेल, २० अर्ब ११ करोडको पाम तेल, १६ अर्ब ६० करोडको स्मार्टफोन र १६ अर्ब ४६ करोडको सुन आयात भएको छ ।
केही समययता नेपालमा विद्युतीय गाडीको माग उच्च छ ।

डिजेल र पेट्रोलबाट चल्नेभन्दा विद्युतीय गाडीको माग उच्च रहेको अटोमोबाइल व्यवसायीहरू बताउँछन् । चालू आर्थिक वर्षको आठ महिनामा ६ अर्ब १९ करोडबराबरका दुई हजार एक सय ९८ विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । नेपालमा भारतमा उत्पादित विद्युतीय गाडी सबैभन्दा धेरै आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । भारतबाट मात्रै आठ महिनामा चार अर्ब २६ करोडका एक हजार पाँच सय ७१ विद्युतीय गाडी आयात भएका छन् । नेपालमा भारतबाट टाटाको नेक्सन र टिगोर, महिन्द्रा इभीलगायत गाडी आयात गरिन्छ । यस्तै, पछिल्लो समय टाटाको इभी ट्याक्सी एक्सप्रेस–टी पनि नेपाल भित्रिन थालिसकेको छ ।

चीनबाट तीन सय ६८ विद्युतीय गाडी भित्रिएका छन् । चीनबाट एमजी, निटा भी, बिवाइडी, विलिङलगायत विद्युतीय कार आयात हुन्छन् । यस्तै, दक्षिण कोरियाबाट २५२ र अमेरिकाबाट चारवटा विद्युतीय गाडी आयात भएका छन् । दक्षिण कोरियाबाट हुन्डाई कोना र अमेरिकाबाट टेस्ला विद्युतीय कार नेपाल भित्रिने गरेका छन् । यसअघि कोरियाबाट कियाको सोल र निरो इभी आयात हुने गरेकोमा पछिल्लो समय कर बढेपछि आयात करिब ठप्प छ । इन्डोनेसियाबाट पनि तीनवटा विद्युतीय कार भित्रिएको विभागको तथ्यांक छ । सरकारले एक सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर सहुलियत दिएको हुँदा सस्तो पर्ने भएकाले आयात धेरै भएको भन्सार विभागका कर्मचारीहरूको भनाइ छ ।

सरकारले आयातमाथिको कसिलो नीति हटाएपछि आयातमा वृद्धि भए पनि निर्यात व्यापार भने ओरालो लागेको छ । विभागका अनुसार फागुनमा ११ अर्ब ३६ करोडको मात्रै वस्तु निर्यात भएको छ । पुसमा १३ अर्ब ५० करोडको निर्यात भएको थियो । माघमा १२ अर्ब ६२ करोड निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको फागुनमा नेपालले १६ अर्ब नौ करोडको निर्यात भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *