कोशीले माग्यो संघीय सरकारसँग साढे तीन अर्ब रुपैयाँ

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ । जसमा सिँचाईमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको छ । समितिको सदस्यमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईँ, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू रहेका छन् ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहनेगरी कानुन न्याय तथा प्रदेश मामिला समिति समेत गठन गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईँको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको मन्त्री सिटौलाले जानकारी दिए ।

प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा कुनै औपचारिक निर्णय नभएको जनाएको छ । उनले संघीय सरकारले समिति बनाइसकेको बताउँदै राजनीतिक रुपमा चासो राख्न र नजिकबाट हेर्ने गरी राजनीतिक तथा प्रशासनिक समितिलाई जिम्मा दिइएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *