अर्थमन्त्री महत भने– ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको छ

काठमाडौं । अर्थमन्त्री डा‍‍प्रकाश शरण महतले ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको र यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले अब ब्याजदर घट्ने र माग बढ्ने खालको सहज नीति ल्याउनुपर्ने बेला भएको बताएका हुन्।

उनले अब ब्याजदर घट्ने, माग बढ्ने खालको, सहज नीति ल्याउनुपर्ने बताए । अर्थतन्त्र सहज बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनले जानकारी दिए ।

लगानीको वातावरण नभई देशको राजस्व नबढ्ने र राजस्व नबढे बजेको आकार बढाउन नसकिने र बजेटको आधार नबढाई पूर्वाधारका लागि लगानी नहुने भएकोले लगानीको वातावरण बनाउन सरकारले पहल गर्ने अर्थमन्त्री महतको भनाइ छ ।

साधारण खर्च व्यापक कटौती गर्ने, समयमै पुँजीगत खर्च गर्ने पद्धतिको विकास गर्ने, वैदेशिक लगानी सहज बनाउनेलगायतका योजनामा सरकार लागिपरेको उनले बताए । पछिल्लो समय केही व्यक्तिले ऋण तिर्दिन भनेर हिँडेकोमा उनले आपत्ति जनाए । ‘अलिकति समय चाहियो भन्ने हो भने छलफल गर्न सकिन्छ, तर ऋणको साँवा र ब्याज तिर्दिन भन्ने छुट कसैलाई छैन,’ महतले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *