तीनवटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार छायाँमा

काठमाडौँ । आगामी वैशाख १० गते उपनिर्वाचनमा सत्तारुढ गठबन्धन र रास्वपा तथा जनमत पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।बारा २, चितवन २ र तनहुँ २ मा एमालेसहित अन्य दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनले वडा तहसम्मै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता सम्मिलित निर्वाचन परिचालन कमिटी गठन गरेको छ । रास्वपाले पनि भएभरको शक्ति निर्वाचनमा लगाएको छ । सो पार्टीका सभापति रवि लामिछाने एक्लै चुनावी प्रचारमा लागेका छन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनबाट आएका रास्वपा र जनमत पार्टीको परीक्षण हुने चुनावी यही हो । अहिले प्राप्त मतले यी पार्टीको भविष्य निर्धारण हुने विश्लेषण गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा छायाँमा परेको छ । सो पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ ।

तर, चितवन २ मा रामप्रसाद न्यौपानेबाहेक अन्य उम्मेदवार चर्चामा छैनन् । बारा २ का पुरुषोत्तम पौडेल सबैभन्दा कमजोर उम्मेदवार बनेका छन् । तनहुँ २ का सर्वेन्द्र खनाल सबैभन्दा विवादास्पद बनेका छन् । काठमाडौँ ६ मा लज्जास्पद ढंगले पराजित भएका खनाल तनहुँमा उम्मेदवार बनेकाले पनि एमालेका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

उपनिर्वाचनको परिचालन र व्यवस्थापनमा समेत अध्यक्ष केपी ओलीले मनोमानी गरेपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । पार्टीभित्र समस्या भएको ठाउँमा समाधान नखोजी सिधै बालकोटबाट गरिएको निर्णयका आधारमा अगाडि बढ्दा चुनावी माहोल नै खल्लो बनेको छ । अहिलेको चुनावी माहोल पनि एमालेको पक्षमा छैन । उम्मेदवारदेखि निर्वाचन परिचालन र व्यवस्थापन टिमनै बालकोटले खटाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता निराश भएका छन् ।

मङ्सिरको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको एमालेले यसपटक रामप्रसाद न्यौपानेलाई उठाएको छ । न्यौपाने उक्त निर्वाचन क्षेत्रका बासिन्दा होइनन् । तर, त्यहीँका बासिन्दा र अघिल्ला निर्वाचनहरूमा पार्टीको प्रतिबद्ध मतभन्दा बढी मतका साथ निर्वाचन जितेका पोखरेललाई पाखा लगाइँदा उनी पक्षका एमाले कार्यकर्ता चुनावी अभियानमा सरिक भएनन् ।

त्यसमाथि जिल्लामै पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवालीसहितका थुप्रै सिनियर र लोकप्रिय नेता हुँदाहुँदै बालकोटबाट गोकुल बाँस्कोटालाई चुनावी कमाण्डर तोकिएका कारण परिचालन र व्यवस्थापनका काममा समस्या आइरहेको स्रोतले बताएको छ । यसअघि पनि चितवन क्षेत्र नम्बर २ मा एमाले तेस्रो भएको थियो ।

एमाले चुनावी अभियानको सबभन्दा निराशलाग्दो वातावरण बारा २ मा देखिएको छ । त्यसै पनि एमाले कमजोर भएको उक्त क्षेत्रमा एमालेका पूर्वनेताहरू सबै एकीकृत समाजवादीमा छन् । ७० प्रतिशत मधेसी समुदायको बसोबास रहेको सो क्षेत्रमा एमालेले पहाडे समुदायबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

सुरुमा एमालेले ईश्वर पोखरेललाई खटाएर चुनावी माहोल तताउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताहरू नै परिचालित नभएपछि पोखरेल काठमाडौँ फर्किएको स्रोतले बताएको छ । अहिले त्यहाँ त्यहीँका केही मध्यम तहका नेता मात्रै चुनावी अभियानमा सरिक छन् ।

तनहुँमा बालकोटबाट सिधै तोकिएका पूर्वआइजी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह आउन सकेको छैन । अघिल्ला निर्वाचनमा विभाजित हुँदै आएका कांग्रेसका नेताहरू यसपटक एकजुट भएका छन् । कांग्रेसका उम्मेदवार गोविन्दराज भट्टराईको चुनावी अभियानको नेतृत्व गर्न काँग्रेसले महामन्त्री गगन थापालाई तनहुँमा खटाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *