पृथ्वी राजमार्गको तनहुँ-१ सडक साँझ ६ बजेसम्म बन्द

तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ क्षेत्र १ मा हुने उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएको हो ।

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने छ ।

उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका रहेको यो क्षेत्रमा उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *