राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा तीनपटकसम्म भर्ना भएर उपचार गराएका पौडेललाई थप उपचारका लागि चिकित्सकहरूले विदेश लैजान सिफारिस गरेका थिए । सोहीअनुसार तुरुन्तै एयर एम्बुलेन्सबाट पौडेललाई नयाँ दिल्ली लगिएको थियो ।

शीतल निवासमा बेहोस भएर लडेपछि उनलाई दोस्रोपटक शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला चिकित्सकहरूले उनको देब्रेपट्टिको छातीमुनिबाट पानी निकालिएको थियो । डाक्टरहरूले देब्रेपट्टिको छातीमुनि पानी जम्नुको कारण निमोनिया, टिबी वा क्यान्सर हुन सक्ने बताएका थिए ।

अहिले नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको छातीको बायाँ भागबाट दोस्रोपटक पानी निकालिएको बताइएको छ । केही दिनदेखि उनको विभिन्न किसिमको परीक्षणसमेत भइरहेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । तर परीक्षण गरिएका रिपोर्ट भने नआइसकेकाले उनलाई कुन रोग लागेको भन्ने खुलेको छैन ।यसअघि जमेको पानी सुकाउन एन्टिबायोटिक चलाइएको र त्यसले नसुकेपछि दोस्रोपटक पानी निकालिएको हो ।

हाल पौडेललाई औषधिका कारण भएका कमजोरीबाहेक अवस्था सामान्य हुँदै गएको बताइएको छ । राष्ट्रपति कार्यालयले पौडेलबारे अनुमानका भरमा गम्भीर रोग लागेको जस्ता हल्ला नगरिदिन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *