अर्थतन्त्रमा सुस्तीको संकेत, फेडले कति बढाउला ब्याजदर ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले बुधवार बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउने अड्कलबाजी चुलिएको छ । बैंकले उक्त बैठकमा लगातारको १० औं (अनि सायद अन्तिममा ) ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अहिले पनि महँगी उच्च स्तरमै भएकोले बैंकले ब्याजदर बढाउने अनुमान उच्च छ । 

अमेरिकी अर्थतन्त्र सुस्ताएको विविध आर्थिक सूचकहरूले संकेत गरेका छन् । केही अर्थशास्त्रीहरूले अमेरिकी अर्थतन्त्र यो वर्ष हलुका खालको आर्थिक मन्दीमै जाने बताएका छन् । तर पनि ले ब्याजदर बढाउने सम्भावना देखिएको छ । विश्लेषक र व्यापारीहरूले फेडले बुधवारको बैठकमा ब्याजदर शून्य दशमलव २५ आधार विन्दुसम्म बढाउन सक्ने बताइरहेका छन् । 

त्यसपछि भने महँगीमाथि अंकुश लगाउन ब्याजदरलाई बढेपछिकै स्तरमा लामो समयसम्म राख्ने अनुमान गरिएको छ । महँगीलाई घटाएर बैंकले दीर्घकालीन अवधिमा २ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य हासिल गर्न ब्याजदरलाई उच्च स्तरमै राख्नु पर्नेछ । यस क्रममा बैंकले आर्थिक मन्दीको अवस्था सकेसम्म टार्न खोज्ने आँकलन भइरहेको छ ।  

फेडले आगामी हप्ता ब्याजदर २५ आधार विन्दुले बढाउने अनि जुनमा भने ब्याजदर बढाउने क्रम रोक्ने अपेक्षा गरिएको बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूले शुक्रवार ग्राहकहरूको नाममा लेखेको एक नोटमा भनेका थिए । बुधवार फेडले ब्याजदर बढाए यो लगातारको १० औं वृद्धि हुनेछ । यो वृद्धिसँगै अमेरिकामा ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीचमा उक्लिनेछ । यो भनेको सन् २००७ यताकै सर्वाधिक ठूलो स्तर हो । 

फेडले ब्याजदर २५ आधार विन्दुले बढाउने अनुमान ८० प्रतिशतभन्दा धेरै फयूचर्स ट्रेडर्सहरूको भएको सीएमई ग्रुपको डेटाले देखाएको छ । फेडको ब्याजदर निर्धारक समिति खुला बजार समिति को बैठक मे २ र ३ मा बस्दैछ । मार्चमा बैठक बस्दाखेरिको भन्दा अहिले परिस्थिति फरक छ । त्यतिबेला अमेरिकामा सिलिकन भ्याली बैंक (एसभी बैंक) धराशयी भएको केही दिन मात्रै भएको थियो । 

फेडको आक्रामक ब्याजदर वृद्धिका कारण समेत अन्य दुई क्षेत्रीय बैंकहरू धराशयी भएर विश्वभर नै बैंकिङ संकट चुलिएको थियो । फेड र अमेरिकाका अन्य नियामकहरूले हतारहतार सो संकटलाई अन्यत्र पोखिने स्थिति टारे वा टार्ने प्रयास गरे । आक्रामक ब्याजदर वृद्धिको सो अप्रत्याशित असरबाट फेड पनि केही सशंकित बनेको छ ।

सो संकटबाट बैंकिङ क्षेत्र पूरै उब्रिसकेको छैन । मार्च २२ को बैठकमा पनि फेडले आक्रामक ब्याजदर वृद्धिलाई थाँती राखेर २५ आधार विन्दुले मात्रै ब्याजदर बढायो । एसभी बैंकको पतनपछि अमेरिका र यूरोपका नियाकहरूले वित्तीय क्षेत्रलाई शान्त बनाउने ठोस कदम चाले । बैंकिङ क्षेत्रमा हाई–प्रोफाइल दूर्घटनाहरू रोक्न केही हदसम्म नियामकहरू सफल भएको जस्तो देखिन्छ । 

कर्जा बजारमा दबाब केही कम भएको अवस्थामा आगामी बैठकमा फेडले २५ आधार विन्दुले ब्याजदर बढाउने अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री माइकल पियर्सले पनि हालै एक नोटमा लेखेका थिए । तर, अहिले वित्तीय बजार केही शान्त भए पनि एसभी बैंकको पतनको असर भने बैंकिङ क्षेत्रमा लामो समय रहनेछ । बैंकहरूले कर्जा प्रवाहको अवस्था कसिलो पारेका छन् । 

कसिलो कर्जा वातावरणले ब्याजदर वृद्धिको जस्तै काम गर्ने फेडका अधिकारीहरूले बताइरहेका छन् । यसले महँगीलाई २ प्रतिशतको इच्छित स्तरमा झार्न आफूले गर्नु पर्ने ब्याजदर वृद्धिको संख्या घटाउने उनीहरूको आशा छ । तर, वित्तीय क्षेत्रमा देखिएको उथलपुथल र बैंकको कर्जाको अवस्था ठिक नभएसम्म यस्तो खालको राय बनाइहाल्ने बेला भएको छैन ।

एसभी बैंक र सिग्नेचर बैंकलाई धराशयी हुनबाट रोक्न आफूले गर्न सक्ने अझ धेरै कुराहरू रहेको शुक्रवार मात्रै अमेरिकी नियामकहरूले स्वीकार गरेका थिए । 

हालै अमेरिकामा सार्वजनिक भएको आर्थिक तथ्यांकहरूले अर्थतन्त्र सुस्ताइरहेको देखाएको छ । यी तथ्यांकहरूले यो वर्ष अमेरिका मा धकेलिने प्रक्षेपणलाई बलियो बनाएको छ । अप्रिलको अन्त्यतिर सार्वजनिक भएको एउटा तथ्यांकले आर्थिक उत्पादन सुस्ताएको देखाएको थियो । मेपछि पनि फेडले ब्याजदर बढाइरह्यो भने आर्थिक मन्दी हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *