ओलीलाई राजेन्द्र लिङ्देनको कटाक्ष, विदेशी एजेन्डाको भरिया बन्नु भन्दा मूर्ख र फटाहा नै ठीक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र मान्ने जति फटाहा र मूर्ख भएको आरोप लगाएपछि अहिले उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध र आलोचना भइरहेको छ । खासगरी राप्रपा कार्यकर्ता र राजतन्त्रका समर्थकले ओलीमाथि प्रहार गरिरहेका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा ओली झापा ५ बाट राप्रपा र राजावादीकै मतले विजयी भएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सहकार्य गरेर ओलीले चुनाव जितेका थिए । यदि राप्रपा र एमालेबीच सहकार्य नभएको भए झापा ३ र ५ मा अर्कै नतिजा आउने निश्चित थियो । तर चुनाव जितेर आएको पाँच महिनापछि नै ओलीले राप्रपामाथि फायर खोलेका छन् ।

राप्रपाले अहिलेकै व्यवस्थाबाट देशमा हिन्दु राज्य र राजतन्त्र स्थापना गर्ने बताइरहँदा ओलीले भने राजतन्त्रका समर्थक फटाहा र मूर्ख मात्र रहेको बताएका हुन् । पूर्वका विभिन्न जिल्ला भ्रमणमा जाँदा आफूमाथि राजावादीले आक्रमण गरेको ओलीको आरोप छ । त्यही भएर उनी अहिले राजावादीमाथि खनिएका हुन् ।

ओलीको अभिव्यक्तिप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन् । उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘विदेशी एजेन्डाको भरिया बन्नु भन्दा फटाहा र मूर्ख नै ठीक ।’ यस्तो भाष्य कहाँबाट आउँछ भन्दै उनले ओलीलाई प्रश्नसमेत गरेका छन् ।

‘हामी त फटाहा र मूर्ख मात्र रहेछौं, जापानी र बेलायती जनता त महाफटाहा महामुर्ख भए हैन त ओलीज्यू ? हैन यस्तो भाष्य र अदभूत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ तपाईलाई ? विदेशी एजेन्डाको भरिया बन्नु भन्दा त मूर्ख र फटाहा नै हुने,’ लिङ्देनले ओलीलाई जवाफ दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *