सरकारलाई प्रश्न– देशभरि भ्युटावर बनाउने पैसाले एउटा राम्रो क्रिकेट रंगशाला बनाउन सकिन्नथ्यो ?

काठमाडौं । विश्वको उच्च शिखर सगरमाथा अनि आठ हजारभन्दा उच्च १४ वटा शिखरमध्ये आठवटा नेपालमै पर्छन्। नेपाल एक पहाडी परिवेशमा अवस्थित देश हो, जहाँ भ्युटावरको आवश्यक नै पर्दैन। नेपालमा यस्तो टावरको आवश्यक नै छैन। नेपाल पहाडै–पहाडले भरिएको सुन्दर देश हो। एउटा पहाडको चुचुरोबाट कैयौँ किलोमिटरसम्मको दृश्य अवलोकन गर्न सकिन्छ।

तर, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला नेपालमा भ्युटावर बनाउन तँछाडमछाडको प्रतिस्पर्धा नै चल्यो । देशका ७५३ स्थानीय तहमध्ये धेरैले आफ्नो पालिकामा एउटा न एउटा भ्युटावर बनाएकै छन् । अत्याधुनिक प्रशासकीय भवन बनाएका छन् । कतिसम्म भने ओलीको गृहनगर दमकमा तीन अर्बको लगानीमा भ्युटावर बनिरहेको छ । ओलीले भ्युटावरलाई समृद्धिको सूचक भन्दै गफ लगाएका थिए । अरू देशमा समुद्रमुनि र माथि घर तथा होटेल बनाइएका छन्। तर नेपालमा राम्रो सडक बन्न सकेको छैन । क्षमता जति बिजुली निकाल्न सकेका छैनौं। तर, सरकार भ्युटावर, पार्क, कभर्डहल बनाउन व्यस्त छ।

देशभर अहिले दुई सयभन्दा बढी भ्युटावर बनाइएका छन् । कतिपय बनिसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । पहाडको डाँडोमा लगेर भ्युटावर बनाइएको छ । जबकि पहाडको चुचुरोबाट देख्न केही बाँकी हुन्न । देशका विभिन्न स्थानमा बनेका भ्युटावरमा २० अर्बभन्दा बढी खर्च भएको छ । जबकि एक अर्ब रुपैयाँ नभएर भरतपुरमा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशाला बन्न सकेको छैन । काठमाडौंमै मूलपानीमा आठ वर्षदेखि क्रिकेट रंगशाला अलपत्र छ ।

न मैदान, न स्रोत, न साधन, अभावै अभावमा पनि नेपाली क्रिकेटले उपलब्धिमाथि उपलब्धि हासिल गरिरहेको छ । एउटा भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दर्शकलाई बस्ने कुर्सी छैन । भुइँमा बसेर क्रिकेट हेर्नुपरेको छ । कम्तीमा त्रिवि रंगशालामा मात्रै प्यारापिट बनाएर दर्शकका लागि कुर्सी र छतको व्यवस्था गरिदिएको भए अहिले नेपाली दर्शकले रुखमा चढेर, पानी पर्दा छाता ओढ्नु पर्दैनथ्यो ।

यसप्रति न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले चासो देखाएको छ, न सरकारमा बस्ने नेताहरूले नै । नेपाली खेलाडीहरुरूले अभावैअभावमा यत्रो ठूलो उपलब्धि हासिल गर्दा सरकार प्रमुख, मन्त्री, दलका नेताहरू बधाई र शुभकामना दिएर आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *