तीन करोड जनतालाई हेरेर काम गर्नुस् ः स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन करोड जनताको जिउ, ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका पाँचवटै महाशाखाका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति, योजना बनाउनु पर्नेमा जोड दिए । मन्त्रालय अहिले आगामी वर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गर्ने किसिमले बजेट विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हुने बस्नेतले बताए । मन्त्रालयका समस्या समाधानका लागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाइ नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, अन्य भेटघाटले काममा बाधा नपरोस् भन्ने हेतुले मैले आगन्तुक भेट्ने समय साँझ ४ बजेपछि राख्दै छु ।

सूर्तीजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न जनतालाई स्वास्थ्य उपचार दिनुपर्नेमा उनले जोड दिए । सूर्तीजन्य पदार्थमा कर बढाऔँ र त्यसबाट संकलन भएको रकम वीर अस्पताललगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान दिऔँ । सूर्तीजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सरलगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गरेका छन् । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति रहेको बताउदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरुलाई निर्देशन दिए । आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिब ४० प्रतिशतले कटौती हुन लागेको बताउँदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *