अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रकाे चर्चा

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन ( हल ) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पु¥याइरहेको छ ।

‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रैजात्रा’ र ‘महापुरूष’ निर्देशन गर्नुभएका निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा पनि विदेशमा बिक्री हुने प्रदर्शन अधिकारबापत प्राप्त हुने रकमले धेरै निर्मातालाई सहज बनाएको छ”, उनले भने , “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।”

उनको निर्देशनमा तयार हुने ‘जात्रा’ को तेस्रो शृङ्खलासमेत विदेशमा बिक्री भइसकेको छ । यो चलचित्र बन्ने आधिकारिक घोषणा नभए तापनि पछिल्लो चलचित्रको व्यापारको आधारमा बिक्री भइरहेका हो । विशेषतःविदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् ।

हुन त समीक्षक नेपाली चलचित्रको कथावस्तु, छायाङ्कन, प्राविधिक पक्ष कमजोर हुँदा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न समस्या भएको दाबी गर्छन् । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतको देश ठूलो बजार बनिरहेको छ ।

ती देशमा छक्का पञ्जा, जात्रा, कबड्डी शृङ्खला निर्माण अगाडि नै बिक्री हुने गरेका छन् । यी शृङ्खलाका पछिल्लो चलचित्रले स्थानीय वितरकलाई समेत मनग्य मुनाफा दिएको थियो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी झैँ हलमै हुने गरेको छ ।

पछिल्लो समय बजार विस्तार मात्र भएको छैन कि प्रदर्शन गर्ने शैली पनि परिवर्तन भएको छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी झैँ नेपाली चलचित्र प्रदर्शन गरिरहेका छौँ”, उनले भने , “यहाँ सपरिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् ।”

उनले अमेरिकासँगै क्यानडा, बेलायतमा समेत चलचित्र भवनमै प्रदर्शन गर्छन् । रेस्टुरेन्ट, सामुदायिक भवनसँगै व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको छ । प्रदर्शक तथा वितरक सुवेदीका अनुसार व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्न जान्छ । “बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्ने गरेको हुन्छ । त्यसबाहेक सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । तर बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन । साथै आफूलाई पायक पर्ने समयमा दर्शकले समेत हेर्न पाउछन्”, प्रदर्शक सुवेदीले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरूष’, ‘जारी’ लगायतका चलचित्र नियमितरूपमै प्रदर्शन गरे ।

अष्ट्रेलियामा सोही शैलीमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरनेटमेन्टका देव कार्कीले विस्तारै यहिँ क्रम बढ्ने बताए । “हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन् । अहिले परिवर्तन भइरहेको छ”, प्रदर्शक कार्कीले भने , “विदेशमा मौलिकता बोकेको र प्रतिष्ठित समूहले निर्माण गरेका नेपाली चलचित्रको बजार निकै राम्रो छ । नामकै आधारमा समेत प्रदर्शन अधिकार खरिद हुने गरेको छ”, प्रदर्शक कार्कीले भन्नुभए झैँ केही चलचित्रको विश्व प्रदर्शन अधिकार निर्माणपूर्व नै खरिद गर्न विदेशमा रहेका प्रदर्शक अधैर्य रहेका छन् ।

कबड्डी’ शृङ्खलामार्फत स्थापित निर्देशक बन्नुभएका निर्माता तथा निर्देशक रामबाबु गुरुङले आउँदो दुई चलचित्र ‘कबड्डी ५’ र ‘म हुँ डिग्री माइला’ विदेश प्रदर्शन अधिकार लगभग विक्री भइसकेको जानकारी दिए । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ को व्यापारले गर्दा आफ्ना आगामी दुई चलचित्र नबन्दै बिक्री भएको उजको बुझाइ छ ।

निर्देशक गुरुङले भने , “कबड्डीदेखि हाम्रो समूहमार्फत तयार भएको चलचित्रको विदेशी बजार बढिरहेको छ । अहिले चलचित्र निर्माण गर्न हामीलाई विषयवस्तुमा मात्र चुनौती हो । लगानीका हिसाबले हामी ढुक्क हुने अवस्था अन्तर्राष्ट्रिय बजारबाट नै छ ।”

अष्ट्रेलियामा नेपाली चलचित्रको बजारलाई नजिकबाट बुझ्नुभएका रङ्ग पत्रकार राजन घिमिरेले सीमित चलचित्रकर्मीको चलचित्र निर्माणअगावै बिक्री हुने गरेको जानकारी दिए । “अहिले विदेशी बजारमा खोजिएको जस्तो चलचित्र बनाउनसके बजार विस्तारसँगै मुनाफा पनि आर्जन गर्न सकिन्छ”, पत्रकार घिमिरेले भने ।

निर्माणकै क्रममा ‘पशुपति प्रसाद २ ः भष्मे डन’, ‘दिमाग खराब’,‘नाङ्गो गाउँ’ को विदेश प्रदर्शन अधिकार बिक्री भइरहेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताए । “विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ”,उनले भने ।

निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगतरूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो ।

खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए । “नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिने छ”, निर्माता बानियाँले भने ।

यो वर्ष पनि नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय बजारमा राम्रो देखिनेछ । किनकी दसैँ तिहारसम्म प्रदर्शन घोषणा भएका प्रतिष्ठित समूहका चलचित्रको प्रदर्शन अन्तर्राष्ट्रिय बजारमा समेत नेपालसँगै हुँदैछ । बजार विस्तारमा चलचित्र विकास बोर्डले पनि अध्ययन गरिरहेको सदस्य रवि अधिकारीले जानकारी दिए । बोर्डअन्तर्गत रहेको ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति’ का संयोजकसमेत रहनुभएका अधिकारीले कार्ययोजनाअनुरूप कामलाई अगाडि बढाउने बताए ।

“निजीस्तरबाट भएका पहल प्रशंसनीय छ । त्यसमा सरकारको उपस्थिति महसुस हुनेगरी काम गर्नेछौँ । हामी सहयोग गर्न सदैव तत्पर छौँ”, सदस्य अधिकारीले भने । उनले आफू संयोजक रहेको समितिले बैठक गरेर अपनाउनुपर्ने कार्यदिशाको छलफल गरिरहेकोसमेत जानकारी दिए । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा देखिएको सम्भावनाले आगामी दिन सुनौलो रहेको सङ्केत गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *