घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न

काठमाडौं । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र जारी गरेका हुन । कार्यक्रममा उपस्थित नेपाल र भारतका कवि तथा साहित्यकारले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । घोषणापत्र जारी गर्दै डिलाशैनीका अध्यक्ष जोशीले चर्मण्यावती (चमेलिया) सभ्यताको अध्ययन एवं प्रचार–प्रसारका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।

सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताए । नेपाल र भारतको कला तथा संस्कृतिमा एकरुपता रहेको र यसको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उपस्थित सहित्यकारको जोड थियो । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्रै नरहेको उल्लेख गर्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताए । उनले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिए। उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकाले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने उनको भनाइ थियो ।

साहित्यकार पुरनसिंह दयालले दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताए। समाजसेवी महेशदत्त भट्टले चौलानी नदी सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा जोड दिए ।

भारतीय साहित्यकार तथा नयामुक्त अभियानका अभियन्ता डा पिताम्बर अवस्थीले गाउँपालिकाले पहिलोपटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै नेपालको एउटा दुर्गम क्षेत्रमा लोक संस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताए।

आयोजक संस्था राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्ट्रिय भावना जागृत गराउन तथा मानसखण्ड लोक संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको बताए। सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *