प्रचण्डले नयाँ दिल्लीमा अजित डोभालसँग पहिलो भेटवार्ता गरेपछि सनसनी

काठमाडौं । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो भेटवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेपछि व्यापक आलोचना भएको छ ।

अजित डोभाल र भारतीय विदेश सचिज विनयमोहन क्वात्रा बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न होटल मौर्य पुगेका थिए । जबकि भारतीय पक्षले डोभालले मात्र भेट्ने कार्यतालिका राखेको थियो । तर क्वात्रा पनि पुगे । पाहुना देशका सरकार प्रमुखलाई पहिले देशको प्रतिनिधित्व हुने गरी सरकारी प्रतिनिधिले भेट्नुपर्नेमा सुरक्षा सल्लाहकारले भेट्नुलाई कूटनीतिक क्षेत्रमा राम्रो मानिएको छैन ।

त्यसमाथि प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबीचको भेटवार्तामा स्वकीय सचिवको हैसियतमा रहेकी गंगा दाहाल बसेपछि दिल्लीमा मात्र होइन, नेपालमा पनि त्यसले संशय ल्याएको छ । प्रधानमन्त्री तहमा भेटवार्ता हुनुअघि दुई देशका एजेन्डा तय गर्न अनौपचारिक छलफल हुने गर्छ । भ्रमणमा रहेका देशका सरकार प्रमुखले आफ्ना एजेन्डा यो यो हुनेछ भनेर आतिथ्यता मुलुकलाई जानकारी गराउने प्रचलन छ । सोहीअनुसार डोभाल र क्वात्रा प्रचण्डलाई भेट्न गएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव भरतराज पौडेललाई बाइपास गर्दै छोरी गंगालाई भेटवार्तामा सरिक गराएपछि स्थिति अन्योल बनेको बताइन्छ । प्रधानमन्त्रीको स्वकीय सचिवको हैसियतमा रहेकी गंगालाई उच्चस्तरको भेटवार्तामा सरिक गराइएपछि डोभाल र क्वात्राले खुलेर कुराकानी गर्न नसकेको नयाँ दिल्लीमा रहेका एक पत्रकारले जानकारी दिए ।

यदि प्रधानमन्त्रीको भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री साउद वा परराष्ट्र सचिवलाई मात्र भेटवार्तामा सरिक गराएको भए भारतीय पक्षले खुलेर आफ्नो कुरा राख्ने वातावरण हुन्थ्यो । तर प्रधानमन्त्री प्रचण्ड यसमा अनुदार देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *