अर्थमन्त्रीले भने– जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आमनागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताए।

‘हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो’, मन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुने छैन ।’

यसअघि मंगलबारको बैठकमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेको थियो । उनीहरूको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शंका उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहनेसमेत प्रतिबद्धता व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गरे ।

अर्थमन्त्री महतले आर्थिक मितव्ययीताका लाागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएकोे बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *