वास्तविक सुकुमबासी पहिचान गरिरहेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुमबासीको पहिचान भइरहेको बताएकी छन् । आज (मंगलबार) सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले वास्तविक सुकुमबासीको पहिचान गर्ने काम अघि बढिरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामीकहाँ दुईथरी सुकुमबासी छन् । एकथरी हुकुमबासी र अर्कोथरी सुकुमबासी । वास्तविक सुकुमबासी को हो यसबारे हामी गम्भीर छौं ।’ मन्त्री श्रेष्ठले सहकारीको विषयमा आफू गम्भीर रहेको बताइन् । सहकारीबाट ठगिएका जनतालाई न्याय दिनका लागि कार्यदल गठन गरिएको र त्यसले काम गरिरहेको उनको भनाइ छ ।

यस्तै मन्त्री श्रेष्ठले भूमिहीनलाई जग्गा उपलब्ध गराउन भूमि आयोगमा छलफल चलिरहेको बताइन् । जग्गा दर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढिरहेको उनको भनाइ छ । त्यसका लागि विभिन्न जिल्लामा रहेका दलित, भूमिहीन सुकुमबासीसँग छलफल गरेको उनले बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *