आयल निगमले आइओसीलाई एक वर्षमै बुझायो २४ अर्ब बक्यौता

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमै २४ अर्ब रुपैयाँ बक्यौता तिरेको छ । पछिल्लो समय निगमले वार्षिक डेढ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरी कारोबार गर्ने गरेको छ । त्यही कारोबार गर्दा उसले इन्धनको मूल्य घटबढ गर्नेक्रममा नाफा आर्जन गरी २४ अर्ब रुपैयाँ बक्यौता तिरेको हो । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ ।

चालू आर्थिक वर्ष ०७९/८० को साउनमा निगमको सञ्चित नोक्सानी ३१ अर्ब थियो । त्यसमध्ये २४ अर्ब रुपैयाँ आइओसीको बक्यौता र सात अर्ब रुपैयाँ सरकारी ऋण थियो । निगमले मंगलबार आइओसीलाई अन्तिम किस्ता तीन अर्ब २० करोड पठाएर बक्यौतामुक्त भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिएका छन् । ‘हामी आइओसीको बक्यौतामुक्त भएका छौँ,’ उनले भने, ‘यो रकम नतिर्दासम्म आइओसी र नेपालस्थित भारतीय दूतावासले लिखित रूपमा बक्यौता असुलीका लागि पत्राचार गरिरहेका थिए ।’

निगमले एक वर्षमा २४ अर्ब रुपैयाँ बक्यौता मात्रै तिरेको छैन, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको तीन अर्ब रुपैयाँको ऋण र ब्याज चुक्ता गरिसकेको छ । सरकारबाट लिएको सात अर्ब रुपैयाँ ऋणमध्ये ७० करोड भुक्तानी गरेको कार्यकारी निर्देशक थानीले जानकारी दिए । यो ऋणको असार अन्तिममा ३० करोड रुपैयाँ किस्ता तिर्नुपर्ने र त्यसका लागि तयारी अवस्थामा रहेको निगमको भनाइ छ ।

निगमले प्रत्येक महिनाको ८ / २३ तारिखमा तेल खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । एक वर्षदेखि यही समयमा बक्यौताबापतको रकम पनि थपेर पठाउँदै आएको थियो । यसपटक भने ८ जुन (२५ जेठ) मा आइओसीलाई तेल खरिदबापतको रकम भुक्तानी गर्दा तीन अर्ब २० करोड रुपैयाँ बक्यौता बाँकी थियो । त्यसपछि बजारमा तेल बेचेर उठेको पैसाबाट १२ जुन (२९ जेठ)मा आइओसीको बक्यौता राफसाफ गरिएको थानीको भनाइ छ । ‘हामीले जुन १२ मै बक्यौता सकाएका थियौँ, तर जुन २३ (असार ८) मा तेल खरिदको दोस्रो किस्ताबापतको रकम पठाएपछि मात्रै औपचारिक रूपमा हिसाब मिलान भएको छ,’ उनले भने । ११ दिनको ब्याजबापतको रकम जोगाउन समयअगावै बक्यौता रकम पठाएको उनले प्रस्टीकरण दिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीव्र दरले वृद्धि हुन थालेपछि आयल निगम १७ पुस ०७७ देखि नोक्सानीमा जान थालेको थियो । तर, दुई वर्षको बक्यौता आयल निगमले एक वर्षमै चुक्ता गरेको छ । यो अवधिमा निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर केही नाफा राखेको थियो । बक्यौता तिर्नुपर्ने भन्दै निगमले कात्तिकयता प्रतिमहिना दुई अर्बभन्दा बढी नाफा राख्दै आएको छ । निगमले चालू आवको साउन महिनामा एक अर्ब ४२ करोड, भदौमा ७२ करोड र असोजमा ९३ लाख रुपैयाँ नोक्सान खेपेको थियो ।


निगमले गत कात्तिक महिनामा मात्रै एक अर्ब २४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । मंसिरमा सामान्य नाफा राखेको निगमले पुसमा दुई अर्ब रुपैयाँभन्दा बढी नाफा राखेको थियो । पुस महिनामा निगमले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको तीन अर्ब रुपैयाँ ऋण पनि भुक्तानी गरेको थियो । माघ र फागुनमा करिब डेढ–डेढ अर्ब रुपैयाँ नाफा गरेको निगमले चैतयता भने मासिक तीन अर्ब रुपैयाँभन्दा बढी नाफादर राख्दै आएको छ । जेठ महिनामा त निगमको नाफा तीन अर्ब ५२ करोड रहेको प्रक्षेपण गरिएको थियो भने असारमा पनि तीन अर्बभन्दा बढी नाफा हुने निगमको अनुमान छ । एक वर्षमा आयल निगमले १० पटक मूल्य समायोजन गरिसकेको छ ।

‘आइओसीको बक्यौता सक्दो छिटो चुक्ता गर्नुपर्ने चर्को दबाबमा थियौँ । उपभोक्ताको गाली सहेर भए पनि तुलनात्मक रूपमा अलि बढी नाफा राखी प्रत्येकपटक मूल्य समायोजन हुने गरेको थियो । हामीले बक्यौता र ऋण तिर्नकै लागि अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य घटाउन सकेका थिएनौँ । अहिले हामी बक्यौतामुक्त भएकाले आउँदा दिनमा भने अन्तर्राष्ट्रिय बजारमा घटेको दरअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न हामी तयार भएर बसेका छौँ,’ कार्यकारी निर्देशक थानीले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *