दलित केटाको घरमा आगो लगाउने केटी पक्षविरुद्ध मुद्दा दर्ता

जुम्ला । अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगो लगाउने केटी पक्षविरुद्ध मुद्दा दर्ता भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–४ निवासी २१ वर्षीय मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरीसँग एक हप्ताअघि प्रेम विवाह गरेका थिए । अन्तरजातीय विवाह गरेको झोकमा मुकुन्द नेपालीको घरमा आगो लगाउने केटी पक्षविरुद्ध सोमबार जातीय छुवाछुत तथा भेदभावको मुद्दा दर्ता भएको हो ।

अन्तरजातीय बिहे गर्ने केटीका दाइ हिक्मत गिरीसहित बुबा र काकाविरुद्ध किटानीसहित जातीय छुवाछूत तथा विभेदको मुद्दा दर्ता भएको मुकुन्दका दाइ भरत नेपालीले बताएका छन् ।

प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार दलित केटा पक्षबाट प्राप्त निवेदनका आधारमा घरमा आगोले लगाउने केटी पक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको छ । मुद्दा शाखाको दर्ता किताबको १०५ दर्ता नम्बरमा (आपराधिक,उपद्रव र जाजातीको आधारमा छुवाछुत वा अन्य विभेदपूर्ण व्यवहारको कसूरमा) मुद्दा दर्ता भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

मुकुन्दका दाइ भरतले आइतबार बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा बसन्तीका दाइ हिम्मत गिरीलाई हिजै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरीक्षक जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । पीडित भरतले क्षतिपूर्तिको मागसहित किटानी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *