कोसीको संकट टार्न राजेन्द्र लिङ्देनलाई देउवाको यस्तो प्रस्ताव

काठमाडौं । सत्तागठबन्धनले नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार थापाले आफूलाई मुख्यमन्त्री नियु्क्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दावी पेस गर्नेछन् ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले थापालाई मुख्खान्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो । अहिले कांग्रेस माओवादी गठबन्धनसँग सभामुखसहित ४७ मत छ । तर सभामुखले सरकार निर्माणमा भोट हाल्न पाउने कि नपाउने भन्ने विषय अदालतसम्म पुग्ने भएकाले राप्रपालाई साथमा लिएर अघि बढ्नुपर्ने चुनौती छ । तर निर्णायक शक्ति राप्रपाले भने कुनै निर्णय गरेको छैन ।

९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि ४७ सिट आवश्यक हुन्छ । एमालेको ४०, कांग्रेसको २९, माओवादीको १२, एकीकृत समाजवादीको चार र जसपाको एक सिट छ ।

एमाले र राप्रपासँग ४६ र सत्ता गठबन्धसँग पनि ४६ सिट नै छ । सत्ता गठबन्धनलाई सरकार निर्माण गर्न राप्रपाको सहयोग अनिवार्य छ । राप्रपालाई सरकारमा सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सोमबार सत्ता गठबन्धनको बैठक बस्नुअघि देउवा र लिङ्देनबीच भेटवार्ता भएको हो ।

लिङ्देनले राप्रपा निर्णायक शक्ति भएका कारण सरकार बाहिरै रहेर सहयोग गर्ने, आलोपालो सरकारको नेतृत्वलगायत विकल्पका लागि तयार रहेको बताएका थिए ।

मध्यावधि चुनावको पनि सम्भावना रहेका कारण कांग्रेस र एमालेको भूमिकालाई हेरेर राप्रपाले ठोस निर्णय लिने राप्रपाको तयारी छ । स्रोतका अनुसार देउवाले पहिले कांग्रेस नेतृत्वमा सरकार बनाउने र पछि राप्रपालाई दिने प्रस्ताव गरेका थिए । यस विषयमा लिङ्देनले पछि निर्णय लिने जवाफ दिएका थिए । यदि राप्रपाले सहयोग नगरेमा कांग्रेस नेतृत्वमा बन्ने अल्पमतको सरकार ३० दिनमै ढल्ने निश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *