एमालेको मिसनलाई ‘सक्सेस’ बनाउँदै सभामुख घिमिरे

काठमाडौं । पछिल्ला केही दिनदेखि एमाले नेताहरुको अडान र अभिव्यक्ति सुन्दा जसरी पनि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने देखिन्छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्दै प्रचण्डले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गरेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन ।

सत्ता गठबन्धन दलले प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्ने, तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिसकेको छ । त्यति गर्दा पनि एमालेले मानेको छैन । त्यसमाथि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै सदनबाट मिटरव्याजीलाई कारबाही गर्न बनाएको कानुन पारित गर्न रोकेको, भ्रष्टाचारविरुद्धको कारबाहीलाई अवरोध पुर्‍याउन खोजेको भनेपछि विपक्षी झन् बिच्किएको छ ।

पुस १० गते आफूहरुसँग गरेको सहमति तोडेर प्रधानमन्त्रीले कांग्रेससँग गठजोड गरेको रिस फेर्ने उपयुक्त मौका आएको ठम्याइँ एमालेको छ । यही अवसरमा संसद्‍मा अवरोध सिर्जना गरेर राष्ट्रिय सभाबाट बजेट नै पास गर्न नदिने रणनीति उसको छ । बजेट पास नहुने अवस्था आए सरकारले अध्यादेशको बाटो रोज्न सक्ने र सदन फेरि लामो समयसम्म विवादमै रुमलिने त होइन भन्ने आशंका बढेको छ ।

संसद्का काम कारबाही नियमित गराउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्ड र एमाले संसदीय दलका नेता केपी ओलीबीच संवाद गराउन भूमिका खेल्नुपर्ने हो । तर उनी अझै एमालेकै नेताका रूपमा प्रस्तुत भइरहेको अनुभव सबैले गरेका छन् । घिमिरेले संसदमा नाराबाजी गरेको हेर्नुभन्दा बाहिरै सहमति नभएसम्म प्रतिनिधिसभा बैठक राख्नुको औचित्य नरहेको अभिव्यक्ति दिएका छन् । जसले एमालेको आफ्नो मिसन पूरा हुने देखिन्छ ।

सभामुख घिमिरेले संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीच मियोको रोल निभाउनुपर्नेमा एमालेकै नेताको पारा देखाएपछि कांग्रेस, माओवादीका सांसदहरू रुष्ट बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *